बाँकेमा गत २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु

वैशाख ११, बाँके । बाँकेमा कोरोना संक्रमणका कारण गत २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिवार बिहान १:२१ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रवार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा शनिवार थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।  दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रवार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।  उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उनीलाई निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ । रासस

Translate »