फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख ४, काठमाडौं । नेपाल आयल निगमले शनिवार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रू. ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । शनिवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रू. १ का दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रू. १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १०४ पुगेको छ ।

आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको विक्री मूल्यमा रू. दुई वृद्धि हुँदा प्रतिलिटर रू. ७६ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तरराष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्य वृद्धि गरिएको छैन ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रू. ४१७ दशमलव ४७ घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा रू. ७० करोड ६६ लाख घाटा हुनेछ ।

निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । रासस

Translate »