कर्णाली प्रदेश मन्त्रीपरिषद् पुनर्गठन

‘फ्लोर क्रस’ गर्ने तीन सांसद बने मन्त्री

स्काई न्यूज /बैशाख ४, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् पुनर्गठन  गरेका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको पक्षमा मतदान गर्ने तीन जना पूर्व एमाले सांसदलाई उनले मन्त्री बनाएका छन् । मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्र बुढाथोकीले जानकारी दिए । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने उनीहरुलाई मन्त्री बनाउँदै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । उनले आफ्नो मन्त्रिमण्डलमा नियुक्त गरेका पूर्व तीनै जनालाई चाँडै नै शपथ खुवाइने तयारी गरेका छन् । मुख्यमन्त्री शाहीनिकट स्रोतका अनुसार कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको छ । नवनियुक्त तीनैजना मन्त्रीलाई शनिबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टी र संसदबाट निष्कासित गरिसकेको छ । यसअघि प्रकाश ज्वालासहित दल रावल र नन्दसिंह बुढालाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि डेढ साताअघि राजीनामा दिएका थिए । उनीहरुमध्ये दल रावलले शुक्रबार एमालेको ह्वीप मान्दै सरकारको विपक्षमा मतदान गरे । तर, ज्वाला र नन्दसिंह बुढाले भने फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत हालेका हुन् । राजीनामा दिएको डेढ सातामै नन्दसिंह बुढा फेरि मन्त्री बनेका छन् । उनले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट राजीनामा दिएका थिए । अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् । बुढाले पहिले सम्हालेको मन्त्रालयमा फ्लोर क्रस गरेका अर्का पूर्व एमाले सांसद कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका हुन् । करिब डेढ वर्षदेखि मुख्यमन्त्री शाहीले स्वयंम् हेर्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापालाई जिम्मेवारी दिईएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट राजीनामा दिएका ज्वालाको स्थानमा पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी छिन् । उनले सामाजिक विकास मन्त्रालय पनि सम्हालिरहेकी छिन् । यसअघि सामाजिक विकास मन्त्रालयमा एमालेका दल रावल मन्त्री थिए ।

Translate »