सुर्खेतसहित १४ जिल्लाका विद्यालय बन्द गर्न अपिल

कोरोना संत्रास फेरी बढ्दै


स्काई न्यूज /बैशाख २, काठमाडौं ।
कोरोना अतिप्रभावित सुर्खेतसहित देशभरका १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र गतिमा बढेकाले रोकथाम तथा नियन्त्रणका लागि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बालबालिका विद्यालय नपठाउन आग्रह गरेको हो । मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको छ । बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) ले ८ बुँदे अपिल जारी गर्दै सुर्खेतसहित १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन आग्रह गरेको हो । मन्त्रालयले सुर्खेत, बाँके, दाङ, कैलाली, रुपन्देही, बाग्लुङ, कास्की, चितवन, पर्सा, बारा, ललितपुर, भक्तपुर, काठमाडौं र मोरङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जानाकरी दिए । ‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु,’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ । मन्त्रालयले एचईओसीले सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न आग्रह गरेको छ । साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड–१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न सार्वजनिक स्थलमा भीडभाड बढेको र त्यसैका कारण फेरि संक्रमण विस्तार हुन सक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ५८८ परीक्षणबाट बिहीबार ४९० जना संक्रमित फेला परेका हुन् । त्यस्तै ५ सय ६४ एन्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यता मन्त्रालयले तत्काल बन्द गर्नुपर्ने अवस्था रहेकाले अप्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई विद्यालय नपठाउन अपिल गरेसँगै अभिभावक र विद्यार्थीहरुमा अन्योल बढेको छ ।

Translate »