कुखुराको दानाको मूल्य आकाशियो

बैशाख ३,काठमाडौं ।
कुखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो । गत फागुन २६ गते प्रतिकिलो दानाको मूल्य २ रुपैयाँका दरले बढाएको नेपाल दाना उद्योग संघले गत आइतवारदेखि प्रतिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्रतिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ । त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति धेरै बढेको सरोकारवालाहरूको भनाइ छ । संघका उपाध्यक्ष केशवराज थापाले अन्तररष्ट्रिय बजारमा भटमास र पिनाको मूल्य आकाशिएकाले दानाको मूल्य पनि बढाउनु परेको बताए ।

‘कच्चापदार्थको मूल्यमा भएको वृद्धि अनुसार त दानाको मूल्य प्रतिकिलो १० रुपैयाँका दरले बढाउनुपर्ने हो,’ उनले भने, ‘तर अहिलेलाई किलोमा ३ रुपैयाँमात्र बढाइएको छ । यद्यपि वैशाख १५ पछि फेरि मूल्य बढ्न सक्छ ।’ कच्चापदार्थ किन्न नसक्ने अवस्थामा दाना उद्योगी पुगेकाले अब उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । यसअघि ७० रुपैयाँ प्रतिकिलो रहेको भटमासको मूल्य महीनामै ४८ रुपैयाँले बढेर अहिले ११८ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी ८० रुपैयाँ पर्ने सोयाको मूल्य बढेर ११२ रुपैयाँ प्रतिकिलो छ भने ९० रुपैयाँ पर्ने सोयाको मूल्य बढेर ११८ रुपैयाँ प्रतिकिलो पुगेको छ । पछिल्लो समय चीनमा भटमास तथा सोयाको खपत अत्यधिक बढ्दा अन्य देशमा यसको अभाव भएकाले मूल्य बढेको हुन सक्ने संघले बताएको छ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात गरिन्छ । दाना बनाउन प्रयोग गरिने कच्चापदार्थमध्ये भटमासको ९९ प्रतिशत र मकैको ७० प्रतिशत हिस्सा बाह्य मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ । दाना र औषधिको मूल्य बढेकाले त्यसको असर कुखुराको मासुको मूल्यमा परेको छ, जसले गर्दा अहिले कुखुराको मासुको मूल्य ३ वर्षयताकै सबैभन्दा बढी छ । मासु व्यवसायी संघले तोकेको मूल्यअनुसार हाल कुखुराको मासुको मूल्य प्रतिकिलो ४१० रुपैयाँ छ भने खुद्राबजारमा ४ सय २० रुपैयाँसम्म पुगेको छ ।

 

Translate »