दर्ता नगरी व्यवसाय सञ्चालन

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतवार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो । आइतवार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा अधिकांश दर्ता नगरेको पाइएको सुर्खेतबाट हुम्ला पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । घरेलु, उद्योग वाणिज्य संघमा दर्ता नगरेका व्यवसायीलाई पहिलोपटक चेतावनी दिइएको र आगामी दिन दर्ता प्रक्रिया पूरा नगरे त्यस्ता व्यवसायलाई सिल गर्ने उनले बताए ।

सिमकोट बजार अनुगमन गर्ने क्रममा सातओटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने त्यो संख्या अझै बढ्ने देखिएको उनले बताए । दर्ता भएका पसलमा पान नम्बरसमेत नलिएको भेटिएको उनको भनाइ छ । पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर विक्री वितरण गरिएको भेटिएको छ । त्यस्तै पेय पदार्थ, जंकफुड, दालमोट, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाइएकाले ती वस्तु नष्ट गर्न लगाइएको थापाले जानकारी दिए । म्याद गुज्रिएका वस्तुप्रति उपभोक्ताले कुनै मतलव नगर्ने भएकाले जनचेतना जोगाउनु आवश्यक छ । रासस

Translate »