कर्णाली प्रदेशमा डिजिटल अभियान प्रभावकारी बन्दै

स्काई न्यूज / चैत २७, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले शुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीले बैंकबाट छिटोछरितो झन्झटरहित सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो । कर्णालीमा डिजिटल महाअभियान चैतको पहिलो सातादेखि शुरु गरिएको थियो । महाअभियान अन्तर्गत डिजिटल प्रविधिमार्फत क्यूआर कोड ९क्विक रेस्पोन्स कोड० १५० जनाले लिइसकेको नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले बताएको छ ।यसबाट सेवा लिन सजिलो हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको शाखा प्रमुख गणेश केसीले बताए । ‘एउटा पसलमा सेवाग्राही सामान किन्न आउँछ । उसलाई उधारोमा सामान दिन पनि सकिँदैन । आएको सेवाग्राहीलाई रित्तो हात फर्काउन पनि सकिंदैन,’ उनले भने, ‘यस्तै परिस्थितिमा क्यूआर कोडको महत्वपूर्ण भूमिका रहन्छ । क्यूआर कोडमार्फत सेवाग्राहीले सामान पाउँछ भने व्यापारीलाई उधारोमा सामान दिनु पनि पर्दैन ।’यसले किनमेल सहज भएको उनको भनाइ छ । क्यूआर कोडमार्फत सामान खरीद गर्न सहज हुने नेपाल बैंक लिमिटेडले बताएको छ । समयको परिवर्तनशीलतालाई आत्मसात गरी प्रविधिको अनुसरण गर्दै नगदरहित अर्थतन्त्र निर्माणमा उक्त अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ । ‘काठमाडौं बाहिर कर्णाली प्रदेशका साना शहरमा समेत डिजिटल प्रति उपभोक्ताको बढ्दो आकर्षणले प्रविधिमैत्री अभियानलाई समेत टेवा पुर्‍याएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले भनिन्, ‘बैंकले नविनतम प्रविधि तथा सेवा मार्फत सेवाग्राहीको जीवन सहज बनाउन सहयोग पुगेको छ ।’ उनले अझै पनि ग्रामीण भेगमा बिजुलीको महसुल तिर्नेजस्ता सामान्य कार्यको लागि सयौं रुपैयाँ र पूरा दिन धाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेकोले अब देशका हरेक कुना काप्चामा डिजिटल अभियानलाई तीव्रता दिन आवश्यक रहेको औल्याईन् । उनका अनुसार बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने तर्फ सरकारले सोच्न आवश्यक छ ।

Translate »