कर्णाली कोरिडोरको निर्माण तीव्र

चैत २६,हुम्ला ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महीनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडकको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैत पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याएपछि निर्माण शुरू भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए । सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भीर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टान फुटाउने कार्य तीव्ररूपमा भइरहेको छ । दुई महिनाभीत्र यस खण्डको ‘ब्रेक थ्रू’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भीर ब्रेकर करिब एक महीना लगाएर फुटाइसकेको छ । यससँगै हुम्लाको चंखेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्म खुलिसकेको छ । यो सडकमा ट्र्याक्टरसमेत पुगिसकेको सपना धुलिखेल जेभीले बताए । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भीर फुटाउने कामसमेत चाँडै शुरू हुने कम्पनीले जानकारी दिएको छ । खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौंडामा ४०० मिटरको भीरबाट एक्स्क्याभेटर मेशिन छिर्न सक्ने पीएस दी क्याराभान कंग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए । रासस

Translate »