कर्णाली कोरिडोरको निर्माण कार्य तीव्र

चैत २४, हुम्ला । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महीनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो ।  चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महीनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।  सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

दुई महीनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ ।  त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करीब एक महीना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चंखेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौंका आधिकारिक प्रतिनिधिले जानकारी दिए ।  अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उनले जानकारी दिए ।

खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कंग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए । योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करीब १५ किलोमिटर मात्र बाँकी छ ।  विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करीब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईओटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ । (रासस)

Translate »