बङ्गुर पालनबाट मनग्य आम्दानी

चैत १९,सल्यान ।
सल्यानका एक किसानले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३ का भक्त बहादुर घर्तीले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका हुन । २०७२ सालदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आइरहेका घर्तीले वार्षिक ८ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । २० हजार लगानी गरेर दुई वटा बङ्गुरबाट व्यवसाय सुरु गरेका घर्तीका अहिले डिग्रो, धराने, पोख्रेली तथा स्थानीय जात गरी ९० वटा बङ्गुर पाल्दै आइरहेका छन् । उनले भने ”सुरुमा २ वटा बङ्गुरबाट व्यवसाय सुरु गरेको हुँ । राम्रो आम्दानी हुन थालेपछि वृद्धि गर्दै आए र अहिले विभिन्न जातका ९० वटा बङ्गुर पालन गर्दै आइरहेको छु ।”

विगतमा तरकारी तथा फलफूल पसल गर्दै आइरहेका घर्तीले पसलभन्दा बङ्गुर पालनबाट राम्रो आम्दानी भइरहेको बताए । उनले भने ”सुरुमा बङ्गुर पालन गर्न त गाह्रो नै भयो फोहोर बढी गर्ने भएकाले कठिनाइ थियो तर आजभोलि बानी परिसके । सामान्य नै लाग्छ ।” बङ्गुर पालन आफ्नो जीवनयापनमा निकै परिवर्तन ल्याएको घर्तीले बताए । बङ्गुर बजारीकरणका लागि खासै समस्या नरहेको बताउँदै उनले फर्मबाटै साना बङ्गुरका पाटापाटी ५ हजारसम्म बिक्री भइरहेको बताए । बङ्गुर पालन व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोचमा रहेको उनको भनाई छ । फर्म नजिकै बजार भएकाले होटलबाट निस्कने जुठोलाई पनि दानाको रुपमा प्रयोग गर्दै आइरहेको घर्तीले बताए । आफ्नै लगानी तथा प्रयासबाट स्वरोजगार, घरपरिवार र समाजमा इज्जतका साथ बस्न पाउँदा सन्तुष्ट रहेको उनको भनाई छ । वर्षको चार पटकसम्म ब्याउने बङ्गुरले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने भएकाले व्यवसाय बढाउन खासै समस्या नहुने घर्तीले बताए ।

Translate »