स्वास्थ्य संस्था मर्ज विरुद्ध मुद्धा दर्ता


स्काई न्यूज /चैत १८, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थालाई आफुखुशी मर्ज गरेको विरोधमा उच्च अदालत सुर्खेतमा मुद्धा दर्ता भएको छ । प्रदेश सरकारले विभेदपूर्ण तरिकाले खर्च कटौती गर्ने बहानामा गत वर्ष भदौंको ५ र ६ गते साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको विरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश अध्यक्ष दिपेन्द्र कँडेल र मेडिकल ल्याब्रोटरी एसोसियसन अफ नेपालका कर्णाली प्रदेश अध्यक्ष दयाराम पङ्गेलीले संयुक्तरुपमा मुद्धा दर्ता गरेका हुन् । स्वास्थ्य सम्बद्ध कार्यालयहरुलाई कर्णाली प्रदेश बाहेकका प्रदेशमा स्वतन्त्र रुपमा रहेको र प्रदेश सरकारले फरक–फरक बिधाका स्वास्थ्य संस्थालाई खर्च घटाउने नाममा मर्ज गर्दा स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा धरासायी भएको भन्दै प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुले विभिन्न पीडाहरु भोग्न बाध्य भएपछि अदालतमा मुद्धा दर्ता गरिएको बताएका छन् ।

मर्ज विरुद्ध बेला–बेला स्वास्थ्य सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले संयुक्तरुपमा विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रमा देखिएको समस्या तत्काल समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि बाध्य भएर अदालतको शरणमा जानु परेको नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष कँडेलले बताए । उनले प्रदेश सरकारबाट स्वास्थ्यकर्मीप्रति गरिएको विभेदपूर्ण व्यवहारले हैरान हुँदा समेत जवाफदेही नभएपछि अदालतमा मुद्धा दर्ता गरिएको जनाए । ‘प्रदेश सरकार स्वास्थ्यकर्मीका मागप्रति उत्तरदायी नभएपछि बाध्य भएर न्यायाको खोजीमा अदालत पुगेका हौं,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ्यकर्मीका समस्या समाधानका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रस्ताब पेश गर्दा हाम्रा मागलाई थन्क्याउने काम गरियो ।’ उनले बाध्य भएर कानूनी उपचारका लागि अदालत एक मात्र विश्वास र आस्थाको केन्द्र भएकाले अदालतमा रिट दर्ता गरिएको जनाए । उनका अनुसार कर्णाली प्रदेश सरकारले आयुर्वेद स्वास्थ्यकर्मी माथि गरेको विभेदपूर्ण व्यवहारले भोग्नु परिरहेका समस्या अदालतबाटै अन्त्य हुनेछ ।

Translate »