हुम्लाका चार गाउँपालिका सडक सञ्जालमा

हुम्ला । राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरले हुम्लाका चार गाउँपालिकालाई जोडेको छ । यसअघि कोरिडोरले जिल्लाको तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकालाई सडक सञ्जालमा जोडिसकेको थियो । कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्लाखण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भाग नेपाली सेनाको विकास निर्माण दलले छिचोलेको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिए । उनका अनुसार चट्टानको लेवल मिलाउने, पर्खाल लगाउने र ग्याबिन भर्ने कामसमेत शुरू भएको छ । यहाँको सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाबीच कर्णाली कोरिडोरअन्तर्गत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भीर छिचोलिएपछि जिल्लाका चार गाउँपालिका जोडिएका छन् । जिल्लाकै अति अप्ठ्यारो र चट्टान भएको सो क्षेत्रको भीर नेपाली सेनाले डेढ वर्षमा छिचोलेको हो । सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए । अझै करीब ६०० मिटर लम्बाइ भएको सो भीरका चट्टान फुटाउन कामदारले शरीरमा डोरी बाँधेर काम गरिरहेका छन् । २० मिटर चट्टान विष्फोट गरेर सडक निर्माण गरिएको छ । असजिलो भीरमा ट्र्याक खोल्ने कार्य पूरा भएको छ । रासस

Translate »