सल्यानमा मौरीपालन : मौरी घार बढे पनि मह उत्पादन घट्यो

चैत १६,सल्यान ।
सल्यानमा बर्सेनि मह उत्पादन घट्दै गएको छ । विगत वर्षको तुलनामा अहिले क्रमिक रूपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालनतर्फ हौसिएका जिल्लाका किसानहरू बर्सेनि मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् । आर्थिक वर्ष ०७५र७६ मा जिल्लाभर १ हजार ५ सय ३० घार मौरी थिए, जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष ०७६र७७ मा मौरी घारको संख्या बढेर २ हजार १ सय ३० पुगे पनि मह उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टन भएको छ । आर्थिक वर्ष ०७७र७८ को हालसम्म कात्तिके महको उत्पादनमा झन्डै ३० प्रतिशतले कमी आएको छ । जिल्लाको कालीमाटी, कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकाका केही किसानले मौरीपालन गर्दै आएका छन् । जिल्लामा बर्सेनि मौरीपालनमा लगानी बढाइँदै गए पनि मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । विगत वर्षको तुलनामा मह उत्पादनमा ह्रास आइरहेको उनले बताए । ‘सल्यान मौरीपालनका लागि सम्भावनायुक्त क्षेत्र हो । तर, विगतका वर्षको तुलनामा यो वर्ष मह उत्पादन घटेको छ,’ उनले भने । मौसमी परिवर्तनका कारण मह उत्पादन कम भएको हुन सक्ने आचार्यको अनुमान छ । कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरन क्षेत्र नबढ्नु तथा सुक्खायामका कारण फूल नफुल्नु र फुलेका फूल पनि बेलैमा सुकेर जाँदा मह उत्पादनमा कमी आएको हुन सक्ने उनको बुझाइ छ ।

मौरीपालनमा सरकारी लगानी धेरै
जिल्लामा मौरीपालन हुने क्षेत्रमा सरकारी लगानी बढ्दै गएको छ । मौरी घारदेखि आवश्यक औजार उपकरणमा समेत सरकारी क्षेत्रको लगानी बढ्दै गएको पाइन्छ । गत वर्ष मात्रै कालीमाटी गाउँपालिका– १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिकाको वडा–३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । कार्यालय प्रमुख आचार्यले मौरीपालनलाई व्यावसायिक बनाउन बर्सेनि लगानी बढाउँदै गएको बताए । किसानलाई आवश्यक परामर्श, मौरीको गोला, घार, मह निकाल्ने उपकरणसहित चरन क्षेत्र वृद्धिका लागि बेमौसमी फूलका बिरुवासमेत उपलब्ध गराइएको उनले जानकारी दिए ।

मौरीपालकको गुनासो : उत्पादन नभएपछि विस्थापित
जिल्लामा बर्सेनि वर्ष मह उत्पादन घट्न थालेपछि किसान चिन्तित बनेका छन् । कालीमाटी गाउँपालिका–२ झिँगानेका नेत्रलाल वलीले विगतमा मौरीको मह बिक्रीबाट मात्रै ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका थिए । तर, अहिले झन्डै २ लाखमा चित्त बुझाउनु परेको उनको गुनासो छ । अर्का किसान चेतबहादुर वलीले श्रमअनुसारको उत्पादन नहुँदा समस्या भएको बताए । मौरीपालनबाटै जीवनयापन गर्दै आएका उनले मौरी घार बढाए पनि उत्पादन वृद्धि नहुँदा समस्या जानकारी दिए । बर्सेनि मह उत्पादन घट्दै जाने हो भने कुनै दिन मौरीपालन व्यवसायबाटै विस्थापित हुनुपर्ने सम्भावना बढेको किसानको गुनासो छ ।

Translate »