एमाले नेता नेपाल र रावल पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित

चैत १६,काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बित गरेको हो । ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको लगायतका आरोपमा नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाउनु भएको थियो । चैत १२ गते  नेता नेपाल र रावलले विधानको उल्लङ्घन आफूहरूले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईँलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गदै जवाफ पठाएका थिए । उनीहरूको जवाफ चित्त नबुझेकाले र जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरिएको छ । एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै अध्यक्ष ओलीले पार्टी विधानको धारा ४९(ख) बमोजिम ६ महिनाका लागि निलम्बन गरेको बताउनु भएको छ । दुवैलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईँलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई आएमा पार्टीले निलम्बन अवधिको बिचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बिचैमा थप कारबाही गर्न सकिने ब्यहोरासमेत जानकारी गराइन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।

Translate »