सल्यानमा आगलागीका घटना बढ्दै

तीन वर्षको बिचमा आगलागीबाट ६ जनाको मृत्यु

चैत १४,सल्यान।
सल्यानमा गर्मियाम सुरु भए सँगै आगलागीका घटना बढ्दै गएका छन् । सल्लैसल्लाको वन भएका कारण सल्यानमा बर्सेनि आगलागीबाट पर्यावरणीय विनाश हुनको साथै करोडको भौतिक तथा मानवीय क्षति हुने गरेको छ । अहिले सम्म सल्यानमा २० वटा भन्दा बढी सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार एक सय ७५ हेक्टर भन्दा बढी वन क्षेत्र सखाप भएको छ । जसबाट ५ सय १५ रुख, ९ सय २५ पोल, ३ हजार भन्दा बढी साना तथा ठुला बिरुवाहरू नोक्सान भएको डिभिजन वन प्रमुख रमेश गिरीले बताए । बितेको तीन वर्षको अवधिमा सल्यानमा आगलागीबाट ६ जनाको ज्यान गएको छ भने २६ लाख २३ हजार बराबरको क्षति भएको छ । यस बर्ष मात्र सल्यानमा आगलागीबाट एक जनाको ज्यान गई सकेको छ भने २ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताए। यस्तै वनबाट सल्केको आगो र घरमै लागेको आगोबाट २० घर जलेर नष्ट भएका छन्, ३१ पशुचौपाय मरेका छन् । जसबाट ६० लाख १० हजार ८ सयभन्दा बढिको क्षति भएको छ । गर्मियाम बढ्दै जानु जङ्गल बिचमा मानव बस्ती भएका कारण पनि आगलागीको जोखिम बढ्दै गएको उनको भनाई छ । सल्यानमा १ लाख ९५ हजार एक सय ७८ हेक्टर वन क्षेत्रले ओगटेको छ । जसमध्ये अधिकांश जङ्गल सल्ला प्रजातिको बाहुल्यता रहेको छ । आगलागीका हिसाबले उच्च जोखिममा रहेको यस जिल्लामा वनमा लागको डढेलोबाट बस्तीमा समेत क्षति पुग्ने गरेको छ ।आगलागीबाट वन्यजन्तु तथा वन्यजन्तुको वास स्थान समेत सखाप भएको छ । करिब दुई वर्ष अघि आगलागीको उच्च जोखिममा सल्यान नेपालकै दोस्रो जिल्लामा परको थियो । आगलागी नियन्त्रणको लागि वन कार्यालय लगायत सरोकारवाला निकायले बर्सेनि उपभोक्ताहरूलाई तालिम, अभ्यास देखि सचेतनाका कार्यक्रमहरू चलाउँदै आइरहेको भएपनि वन उपभोक्ता समिति बाटै वनमा आगो लगाउने कार्य भइरहेको उनको भनाई छ ।

Translate »