अछाममा योग विज्ञान शिविर सम्पन्न

चैत १३,अछाम ।
अछाम सदरमुकाम मङ्गलसेनमा योग विज्ञान शिविर, सत्सङ्ग तथा आयुर्वेद परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बिहान अछाम बहुमुखी क्याम्पसको प्राङ्गणमा बृहत् योग विज्ञान शिविरसहित सत्सङ्ग तथा आयुर्वेदिक परामर्श कार्यक्रम भएको हो । पतञ्जलि योग समिति अछाम, अछाम बहुमुखी क्याम्पस, षोडशादेवी माध्यमिक विद्यालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा करिब ४ घण्टा योग शिविर, सत्सङ्ग तथा आयुर्वेदिक परामर्श कार्यक्रममा स्थानीयहरू सहभागी थिए । अछाम बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा हरिद्वारबाट आएका पतञ्जलि योग समितिका नेपाल प्रभारी साध्वी देवादितिको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँवरले सबैले योगको माध्यमबाट स्वस्थ जीवन जिउनुपर्ने बताए। कार्यक्रमका अध्यक्ष तथा अछाम बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् मङ्गलसेन नगरप्रमुख पदम बोहराले जिल्लामा वृहत् योग विज्ञान शिविरले योगप्रतिको आकर्षणलाई थप विस्तार गरेको भन्दै योगले व्यक्तिलाई स्वस्थ, निरोगी तथा असल भावनाको विकास गराउने भएकाले सबैले योग गर्नुपर्ने बताए । कार्यक्रममा पतञ्जलि योग समितिका प्रदेश प्रभारी काशीनाथ भट्ट, योग समितिका केन्द्रीय सदस्य तथा प्रदेश सभा प्रभारी कमला सापकोटा लगायतले योगको महत्त्वबारे जानकारी गराउनु भएको थियो । शिविरमा करिब २ सयको सहभागिता थियो । सहभागीले योगले शरीरलाई स्फूर्ति प्रदान गर्ने भन्दै शिविर फलदायी भएको बताए । शिविर तथा सत्सङ्गमा मङ्गलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर विष्ट, सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाही, मङ्गलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी, पतञ्जलि योग समिति अछामका संस्थापक चन्द्रमणी भाट, मदन कुँवर, लगायतको सहभागिता रहेको थियो । पतञ्जलि योग समितिका मनकला न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन विश्वेश्वर प्रसाद ढुङ्गानाले गरेका थिए ।

Translate »