‘स्कूल अफ ल’ मा तालाबन्दी

मप विश्वविद्यालयमा भर्ना विवाद चुलियो


स्काई न्यूज /चैत १३, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कूल अफ ल’ मा प्रवेश परीक्षा उर्तिण गरेका विद्यार्थीले भर्ना गर्न माग राख्दै तालाबन्दी गरेका छन् । विश्वविद्यालयको ‘स्कूल अफ ल’ ले गत फागुन महिनामा नयाँ भर्ना लिनका लागि लिएको प्रवेश परीक्षामा उर्तिण गरेका ४५ जना विद्यार्थीले शुक्रबार तालाबन्दी गरेका हुन् । ल क्याम्पसमा तालाबन्दी कार्यक्रमको नेतृत्व गरेका सूर्यबहादुर शाही, पवित्रा भियाल, निशा पचभैया र कमल शाहीले प्रवेश परीक्षामा उर्तिण परीक्षार्थीलाई तत्काल भर्ना लिएर पठन पाठन सुचारु गर्न माग गरेका छन् । विश्वविद्यालयले विद्यार्थीका मागलाई सम्बोधन नगरे तालाबन्दीलाई निरन्तरता दिईने उनीहरुको भनाइ छ । विश्वविद्यालयले गत फागुन १७, १८ र १९ गते पाँच वर्षे एलएलवीको नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षा उर्तिण गरेका विद्यार्थीलाई फागुन २३ गतेदेखि २६ गते सम्म भर्ना भईसक्नु पर्ने विश्वविद्यालयले नै मिति तय गरेको थियो । तर, विभिन्न कारण देखाउँदै विश्वविद्यालयले नै भर्ना अहिलेसम्म रोकिराखेको छ ।

प्रवेश परीक्षामा सहभागि १९० जना मध्ये ४५ जना मात्र उर्तिण भएका थिए ।  बाँकी अनुउर्तिण भएका विद्यार्थीले प्रवेश परीक्षामा धाँधलीसहित अनियमितता भएको आरोप लगाउँदै पुर्नपरीक्षाको माग राखेपछि नयाँ भर्ना कार्यक्रम रोकिएको हो । प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट हुुनुका साथै नातावाद समेत भएको अनुर्तिण परीक्षार्थीको आरोप छ । प्रवेश परीक्षा उर्तिण गरेका विद्यार्थीले भर्नाको माग राख्दै विगत एक महिनादेखि ‘स्कूल अफ ल’ को अगाडि दिनहुँ धर्ना दिँदै आएका छन् । ती मध्ये कतिपय विद्यार्थी अब एलएलवी पढ्न नपाईने हो की भन्दै विकल्प खोज्न थालेको बताउँछन । यता एलएलवी पाँचौं सेमेस्टरका विद्यार्थीले ‘‘स्कूल अफ ल’ को प्रवेश परीक्षाको विवादले सृजित तालाबन्दीबाट आफ्नो नियमित पठनपाठन रोकिँदा समस्या भईरहेको बताएका छन् । पाँचौं सेमेस्टरका सरोजराज शाही, कृष्णबहादुर ओलीलगायतले ‘स्कूल अफ ल’ मा दक्ष र अनुभवि शिक्षकबाट छिटो पठनपाठन सुचारु गराउनु पर्ने माग राखे । उता विश्वविद्यालय प्रशासनले भने शुक्रबार बेलुका ५ बजे स्कूल अफ ल मा देखिएका समस्या समाधानका लागि बोलाईएको पत्रकार सम्मेलन कार्यक्रम अघि उपकुलपति नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरी र विद्यार्थी वीच झडप भएको छ । आन्दोलित विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा केही विद्यार्थी समेत घाइते भएका छन् । आन्दोलनरत केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको भनिएपनि सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले घटनाबारे यो समाचार तयार पारुन्जेल अझै आधिकारिक रिपोर्टिङ आइनसकेको बताए ।

 

Translate »