स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्न : ७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र !

चैत ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के गर्ने भनी प्रश्न गरे । ‘७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र ?’ उनले भने ‘त्यसो हो भने प्रदेशले के गर्ने, केन्द्र सरकारले के गर्ने ?’ प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताए । उनले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताए । ‘त्यस्तो सोच हुनै सक्दैन, थुपारेर राख्ने, फ्रिजमा राखेर के गर्ने ?’ प्रधानमन्त्री ओलीले स्थानीय तहसँग खर्च गर्ने क्षमता पनि नभएको बताए । क्षमता भएको ठाउँमा त खर्च नभएर बेहाल छ भने क्षमता नभएको ठाउँमा झन् गाह्रो हुन्छ’ उनले भने ।
‘अहिले सरकार छ जस्तो लाग्दैन र !’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरेको जस्तो लाग्दैन र भनी प्रश्न गरे । सरकारले सडक बालबालिका र सडक मानवमुक्त बनाएको उनले दावी गरे । ‘सडक बालबालिका खाते भनेर हिँडिरहेका थिए, नि अहिले देख्नुहुन्छ ?’ उनले प्रश्न गरे ‘मान्छेका बच्चा कुकुरसँग लडेर कुकुरसँग मिलेर सुत्थे, तपाईं हामीले सडकभरि देखेको होइन, अहिले कहाँ छन् रु किनभने ती बालबालिकालाई हेर्ने सरकार छ ।’
आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको प्रधानमन्त्री ओलीले दावी गरे । नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उनले यसलाई ५० प्रतिशत पुर्‍याउने दावी गरे । मेलम्चीको पानी चैत १५ देखि कामठाडौंमा वितरण सुरु हुने र २ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।(अनलाइन खबर)

Translate »