प्रधानमन्त्रीका लागि देउवाले अलमल गरेपछि प्रकाशमान बढ्न खोजे

काठमाडौं, ९ चैत्र ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि अगाडि बढ्ने छाँटकाँट नदेखाएपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जतिसक्दो छिटो बर्हिगमनको पक्षमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले आइतबार बैठक बसेर देउवाले कदम चाल्न ढिलाई गरेकोबारे समिक्षा गरेपछि सिंह अगाडि बढ्ने भएका हुन् । काँग्रेसको पौडेल समूह ओलीइतरको समिकरण बन्नुपर्ने पक्षमा उभिएको छ । जतिसक्दो छिटो ओलीलाई हटाउनुपर्ने पक्षको रहेको उक्त समूहले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच समिकरण बनाउन जोड दिइरहेको छ । कि देउवा अगाडि बढ्नुपर्ने या अरु नेतालाई संसदीय दलको नेता बनाएर बढाउनुपर्ने या अन्य दलको नेतालाई समर्थन गरेर भएपनि ओलीलाई सत्ताबाट हटाउनुपर्ने पक्षमा पौडेल समूह छ । देउवा समूह भने प्रधानमन्त्रीका लागि अगाडि बढ्ने परिपक्व वातावरण नभएको बताउँदै आएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अझै अवस्था नबनेको अभिव्यक्ति दिएका छन् । महामन्त्री डा. सशांक कोइराला काँग्रेसले १० फागुनपछि अविश्वासको प्रस्ताव लाने सार्वजनिक अभिव्यक्ति दिएर चर्चामा छन् । देउवाइतरका नेताहरु जतिसक्दो छिटो ओलीलाई हटाउने पक्षमा छन् । आजको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा काँग्रेसले सरकारको नेतृत्व लिने या नलिने, ओलीइतरको समिकरण निर्माणमा अगाडि बढ्ने या नबढ्नेबारे गम्भीर विषय उठ्नेगरी पौडेल समूहले तयारी गरेको छ । हिजो नै पौडेल निवासमा बैठक बसी यस्तो तयारी भएको हो । देउवाले आफू नभए अरु नेतालाई समर्थन गर्ने सम्भावना कमजोर छ । संसदीय दलको नेता चयनमा देउवालाई प्रकाशमान सिंहले चुनौती दिएका थिए । त्यतिबेला देउवाको पक्षमा ४१ र प्रकाशमान सिंहको पक्षमा २२ मत परेको थियो । कृष्णप्रसाद सिटौला पक्षधर केही सांसदहरुको मत देउवालाई गएको थियो । विकसित घटनाक्रमले सिंहको पक्षमा सांसदहरुको समर्थन बढेको बुझिएको छ । विगतमा उनलाई मतदान नगर्ने सांसदहरुले पनि भेटेर अब खुट्टा नकमाउन भन्दै अगाडि बढ्न सुझाव दिएको बुझिएको छ । (reporters nepal)

Translate »