नेपालमा संघीयता खारेज गर्ने सेटिङ्ग गरेर अन्यत्र डिजाईन गरिँदैछ : माओवादी नेता विष्ट

राष्ट्रवादी शक्ति गोलबन्द हुन आव्हान

स्काई न्यूज /चैत ६, सुर्खेत ।
नेकपा माओवादी सेन्टर कर्णालीका प्रभावशाली नेता ठम्मर विष्टले उच्च तहबाटै संघीयतालाई नै खारेज गर्ने खतरनाक खेर चलिरहेको बताएका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका विष्टले काठमाडौंबाट फर्किनेक्रममा शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त भेटघाट कार्यक्रममा देश भित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले वर्तमान व्यवस्था नै खारेज हुन सक्ने खतरा बढ्दै गईरहेको जनाए । उनले संघीयताको विकेन्द्रीकरण कार्यान्वयन हुन नदिने कार्य उच्च वर्गले नेपालमा सेटिङ्ग गरेर अन्यत्र डिजाईन गराई राखेको बताए ।  ‘पछिल्लो समय पद र प्रतिष्ठा प्राप्तिका लागि राजनीतिक दलहरु वीच चलिरहेको उठापटकले देशमा असोचनीय घटना घट्न सक्ने आशंका प्रबल बन्दै गईरहेको छ,’ उनले भने, ‘देश नै नरहे हामी कहाँ रहौंला ? नागरिकको हिफाजतका लागि पनि राष्ट्रवादी शक्ति अब गोलबन्द हुनुको विकल्प छैन ।’ उनले कर्णालीका नागरिकले दैनिक भोग्नु परिरहेको समस्याप्रति सचेत र जिम्मेवार बन्दै सर्वोच्च अदालतले नै एमाले र माओवादी केन्द्र ब्यूताउने फैसलाले आफु पुनः माओवादी सेन्टरमै रहेको जिकिर गरे । सर्वोच्च अदालतले नै एमाले र माओवादी केन्द्र ब्यूताउनु अगाडि नेकपा हुँदा प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी कदमको पक्षमा रहेको स्मरण गर्दे उनले जनजीविकाको सवालमा अहिले पनि हरेक मोर्चाबाट आवाज बुलन्द पार्न पछि नपर्ने बताए । ‘राजनीतिक दलहरु आम नागरिकले दैनिक भोग्नु परिरहेको समस्याप्रति बेखबर बनेर एक अर्कोलाई सिध्याउने खेलमा जुटेका छन,’ उनले भने, ‘आफ्नो स्तरबाट राजनीति ‘ईगो’ प्रति दलहरुलाई सचेत गराउँदै नागरिकका समस्याप्रति ध्यानाकर्षण गराउँदै आएको छु ।’

उनले जनजीविकाको सवालमा हिजोदेखिनै जेलनेल हुँदै पार्टीमा विभिन्न माध्यमबाट योगदान पु¥याउँदै आएकाले कुनै फरक दलको सदस्य नबुझ्न आग्रह गरे । आफु हिजोपनि माओवादी रहेको र आजपनि माओवादीमै रहेर जनताको पहरेदारी गरिरहने उनको भनाइ थियो । यसअघि कर्णाली प्रदेश सरकारका गतिविधिप्रति असहमति जनाउँदै साविकको नेकपा प्रचण्ड–माधव पक्ष छोडेर प्रधानमन्त्री केपी खेमाको लविङ्ग गर्दे आईरहेका नेता विष्टले राजनीतिक परिस्थिति अनुसार आफु नेकपा माओवादी सेन्टरमै रहेको दावी गरे । कर्णाली प्रदेश सभामा देखापरेको राजनीतिक संकटले मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार फेरबदल हुन सक्ने सम्भावना बारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘कानूनी व्यवस्था अनुसार नै अविश्वासको प्रस्ताव आएकाले एक महिनाभित्रै मुख्यमन्त्री शाहीले विश्वासको मत लिनु पर्ने हुन्छ । यद्यपि ! मुख्यमन्त्री शाहीले नेतृत्व गरेको सरकारलाई तत्कालै कुनै खतरा र बलियो चुनौती देखिदैन् ।’ उनले अविश्वास र विश्वासको सबै सेटिङ्ग केन्द्रबाटै हुने भएकाले राजनीति ‘ईगो’ भन्दा माथि उठेर कर्णालीको जनताको पक्षमा निर्णय लिन आवश्यक रहेको औल्याए । आफु सत्ताको खेल भन्दा धेरै पर जनताको जनजीविकाको सवालमा जुटेकाले पद, प्रतिष्ठा र पैसाको पछाडी नपरेको उनले स्पष्ट पारे ।

Translate »