बर्राेको औषधीय महत्व : कसरी र केका लागि प्रयोग गर्ने ?

बर्रो एक पतझर जातिको रुख हो । आयुर्वेदमा त्रिफलाको रुपमा व्याख्या गरिएको यो एक बहुउपयोगी वनस्पति हो । वनस्पति विभागका अनुसार बर्रो नेपालबाहेक पनि भारत, पाकिस्तान, श्रीलंका, बर्मा, थाइल्याण्ड, इण्डोनेसिया, चीन, मलेसिया लगायत नेपालको उष्णप्रदेशीय जंगलहरूमा ३०० मिटरदेखि ११ सय मिटरसम्मको दुरीमा पाउन सकिन्छ । मंसिरदेखि फागुन महिनासम्म बर्रोको फल संकलन गर्ने गरिन्छ । फल संकलनगर्दा हाँगाहरू हल्लाएर फललाई भुइँमा झार्नुपर्छ अथवा हातले नै टिपेर संकलन गर्दा पनि हुन्छ । खासगरी यसका फल बाँदरले खाने भएकोले पाक्नेबित्तिकै संकलन गर्नुपर्ने वनस्पति विभागले जनाएको छ।
कस्तो बर्रो औषधीय गुणले युक्त हुन्छ
बर्रोको फल संकलन गरिसकेपछि किराले नखाएका, पुष्ट र राम्रा दानाहरु छुट्ट्याएर घाममा सुकाइसकेपछि बोरामा हाली ओभानो ठाउँमा भण्डार गर्नुपर्छ । साधारणतया संकलित काँचो फल सुकाउँदा १० प्रतिशत तौल घट्छ ।
बर्रोलाई केका लागि उपभोग गर्ने ?
यसको फल ज्वरो नियन्त्रण गर्न, खाना पचाउन, दाँत बलियो बनाउन, घाँटी दुखेकोमा, कब्जियत, पखाला, दादुरा, गिँजाबाट रगत बग्न रोक्न, स्वर खुलाउन, आँखाको संक्रमण, आदिमा प्रयोग गरिन्छ । गाउँघरमा बर्रोको ताजा फल मसी बनाउन पनि प्रयोग गरिन्छ । त्यस्तै, प्यास, झाडावान्ता, अल्सर, ब्रोन्काइटिस आदिमा औषधिको रूपमा पनि यसको प्रयोग हुन्छ । बिउबाट निकालेको तेल कपालको लागि राम्रो मानिन्छ । फलको बोक्रा घाममा सुकाई बनाएको चुर्ण तातोपानीसँग खानाले खोकी, दम, कब्जियत, रक्त अल्पताको लागि फाइदा गर्छ । पखाला, जुलाफ, अल्काइ र टाउको दुखाइमा समेत यसको प्रयोग भएको पाइन्छ । आँखामा संक्रमण भएको अवस्थामा एकरात बर्रोको फल भिजाएको पानीले आँखा धोएमा आँखालाई समेत यसले फाइदा हुन्छ । तिब्बती प्रणालीमा बर्रोको बोक्रा कलेजो र फियोको संक्रमणमा प्रयोग भएको पाइन्छ । राउटे जातिले कमलो बर्रोको रस ज्वरो घटाउनका लागि उपयोग गर्छन । यसको काठ बलियो हुन्छ र काठलाई डुङ्गा र अन्य कृषि औजारहरु बनाउनमा प्रयोग गरिन्छ । आयुर्वेदिक औषधि त्रिफला हर्रो, बर्रो र अमलाको संमिश्रण हो । बर्रोको धूलो कब्जियतमा उपयोगी मानिन्छ । फलको गुदीदार भाग दाँत बलियो बनाउन एवं गिँंजाबाट रगत आउने रोगमा प्रयोग गरिन्छ । यसको बोक्रा र बिउमा भएको ट्यानिन छालामा चमक ल्याउन र धेरै वर्षसम्म टिकाउ बनाउन छाला उद्योगहरुमा प्रयोग गरिन्छ । यसको बिउबाट ३८ प्रतिशत तेल निस्कन्छ जुन तेल छालाको रोग, साबुन बनाउन र कपालको सुन्दरताको लागि उपयोगी हुन्छ । बिउमा भएको प्रोटिनबाट गम बनाउन सकिन्छ । बिजपत्र निकालेको बिउमा भएको अक्जालिक एसिड मसी बनाउन प्रयोग हुन्छ । (अनलाइन खबर)

Translate »