लैङ्गिक समता र मर्यादित महिनावारीको अभियानमा जुम्ली महिला

सागर परियार/चैत ४,जुम्ला ।
पछिल्लो समय जुम्लाका महिलाहरू लैङ्गिक समता तथा मर्यादित महिनावारीको अभियानमा जुटेका छन् । समाजमा विद्यमान लिङ्गका आधारमा हुने हिंसा र छाउपडी प्रथाका नाममा जन्मजातै महिला माथि हुने विभिन्न हिंसाको विरुद्धमा जुम्ली महिला जुटेका हुन् । जुम्ला सदरमुकाम खलङ्गामा आज सर्वोदय नेपालद्वारा आयोजित लैङ्गिक समता र समावेशीकरणका लागि मर्यादित महिनावारी सम्बन्धी कार्यशाला अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरूले मर्यादित महिनावारीलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । महिला अधिकारकर्मी लक्ष्मी कन्या बुढाले प्राकृतिक प्रक्रिया महिनावारीलाई गलत रुपमा व्याख्या गरेर किशोरी तथा महिलाहरूमा घरदेखि कार्यालय र विद्यालयमा सम्म अझै विभेद भइरहेको बताए । सरकारी तथा गैरसरकारी निकायहरूको जनचेतना मूलक कार्यक्रमले पछिल्लो समय महिलाहरू सशक्त बन्दै भए पनि सामाजिक कुसंस्कारको बन्धनबाट अझै मुक्त हुन नसकेको उल्लेख गरे । त्यस्तै छाउपडी अभियन्ता राधा पौडेलले गाउँमा कानुनभन्दा सामाजिक संस्कारको पालना गर्नेको बहुमत भएकोले महिलाहरू अझै हिंसामा रहेको बताए । स्वयम महिलाले आफ्ना पिडा भन्न नसक्नु र कानुन कार्यान्वयनमा सरोकारवाला अग्रसर नहुनुले समस्या रहेको भन्दै अब स्वयम महिला नै मर्यादित महिनावारीको अभियानमा जुट्नु पर्ने उल्लेख गरे । किशोरी तथा महिलाहरू स्वास्थ्य, शिक्षा, रोजगार र आर्थिक आम्दानीका हिसाबले पछि पर्नु तथा सानैमा विवाह गर्नुको मुख्य कारकतत्व नै छाउपडी प्रथा भएकोले महिनावारीलाई मर्यादित बनाउन अभियानकै रुपमा चलाउनुको विकल्प नरहेको तातोपानी गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले बताए ।

सभा सम्मेलनमा मर्यादित महिनावारीको कुरा गर्ने, महिला नेतृहरूबाटै व्यवहारमा कार्यान्वयन नहुँदा पनि महिलाहरू हिंसामा पर्न बाध्य रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उता तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले मर्यादित महिनावारीलाई कार्यान्वयन गर्न स्वयम महिला नै बढी सक्रिय हुनुपर्नेमा जोड दिए । सबै महिला हिंसाको कारण महिनावारी नै नभएकोले छाउपडी लगायत अन्य सामाजिक कुसंस्कारको विरुद्धमा नीतिगत रूपमै अघि बढ्न उनको सुझाव छ ।स्थानीय तहको न्यायिक समितिमा महिला संयोजक छन् । तर मर्यादित महिनावारीका बारेमा न स्पष्ट कानुन छन् । नत कुनै उल्लेखनीय काम भएका छन् । स्वयम महिला जनप्रतिनिधि सशक्त भएर गाउँ गाउँमा मर्यादित महिनावारीको अभियान चलाउनु पर्ने अध्यक्ष न्यौपानेको सुझाव छ । सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले लैङ्गिक समता, समावेशीकरण, सशक्तीकरण, जीविकोपार्जन तथा मर्यादित महिनावारीका बारेमा ग्रामीण महिलाहरूलाई सशक्त बनाउँदै आएको जानकारी दिए । महिला जनप्रतिनिधि, समूह, सहकारीमा आबद्ध महिला, नागरिक समाज, पत्रकार सबैलाई मर्यादित महिनावारीको अभियानमा जुट्न समेत उनले आग्रह गरे । जुम्लामा सर्वोदय नेपालको अगुवाइमा साढे दुई दर्जन गाउँ बस्ती छाउपडी मुक्त गाउँ घोषणा भइसकेका छन् । तर महिलाका क्षेत्रमा कडा कानुन बन्दै गएको अवस्थामा अझै लैङ्गिक हिंसा तथा छाउपडी प्रथाको समस्या लक्ष्य अनुसार न्यूनीकरण नभएकोले लैङ्गिक समता र मर्यादित महिनावारीका लागि सबै सरोकारवाला जुट्न आवश्यक रहेको खत्रीले बताए । जुम्लामा सर्वोदय नेपालको आयोजनामा दुई दिनसम्म लैङ्गिक समता र समावेशीकरणका लागि मर्यादित महिनावारीका बारेमा शिक्षक, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूसँग कार्यशाला सम्पन्न भएको छ ।

Translate »