फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

चैत ३, काठमाडौं । नेपाल आयल निगमले मंगलवार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाले वृद्धि हुँदा प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा विक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ । मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई १ अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ । इण्डियन आयल कर्पोरेशनबाट मंगलवार प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको बताएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर  ९९ रुपैयाँमा विक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।  रासस

Translate »