बलात्कार आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद


स्काई न्यूज / चैत २, सुर्खेत ।
सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखा अन्तर्गत आन्तरिक लेखा परीक्षकमा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । केही समय पछि आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले मुद्दाको तहकीकात चलिरहेकै बेला अदालतमा बयान फेरेकी थिइन् । झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए । उनले कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको बताए । उनका अनुसार पुर्पक्षका लागि थुनामा रहेका शर्मालाई अदालतले निर्दोष ठहर गरेको छ ।

Translate »