जाजरकोट–रुकुम पश्चिम जोड्ने झोलुंगे पुल जीर्ण

फागुन २८,रुकुम ।
रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुंगे पुल जीर्ण बन्दै गएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यो पुलमा रहेका फ्ल्याकहरू ठाउँ–ठाउँमा उक्किएका छन् भने वरिपरि रहेका तार, जालीहरू फुत्किँदै गएका छन् । पुलका विभिन्न भागमा रहेका नट बोल्टहरू समेत झरेका छन् । अहिले उक्त झोलुंगे पुलमा यात्रा गर्न जोखिम रहेको चौरजहारी नगरपालिका–३ का तेजबहादुर बटालाले बताए । ‘पुलबाट आउजाउ गर्न नै त्रास छ,’ बटालाले भने । भेरी नगरपालिका–११ की विष्णु गिरीले विद्यालय जाने विद्यार्थी डराई डराई पुल तर्ने गरेको बताइन् । ‘पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको छ,’ उनले भनिन् । वर्षौंसम्म मर्मत नभएको र संरक्षणमा सम्बन्धित निकायले चासो नदिएको चौरजहारी नगरपालिका–३ का प्रवेश क्षेत्रीले बताए । उनका अनुसार त्यही पुलबाट मोटरसाइकल समेत वारपार गराउँदा पुलका फ्ल्याकहरू उप्कँदै गएका हुन् । चौरजहारी नगरपालिका–३ ले पुल मर्मतका लागि पूर्वाधार विकास कार्यालयलाई पत्राचार गरिएको बताएको छ । पुल जीर्ण भएको र आवतजावतमा समस्या भएको स्थानीयको जनगुनासोपछि पुल मर्मत हुन थालेको हो । स्थानीय सरकारको सिफारिश प्राप्त हुनेबित्तिकै पूर्वाधार विकास कार्यालयले मर्मत सम्भारका लागि लगत तयार गर्न कर्मचारी खटाउने बताएको छ । पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख पदमप्रसाद देवकोटाले दश दिनभित्र जीर्ण पुल मर्मत गरिसक्ने बताए ।

 

Translate »