महाशिवरात्रिमा सबुज गणद्वारा सल्यानमा चार समूहमा दौड

 

फागुन २८,काठमाडौँ ।
महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सल्यान जिल्लामा तैनाथ सबुज गणले बिहीबार पाँच किमी दूरीको दौड प्रतियोगिता आयोजना गरेको छ । चारवटा उमेर समूह महिला र पुरुषका लागि बेग्ला बेग्लैरूपमा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो । नेपाली सेनाका १९ नं बाहिनीपति सहायकरथी मदनकुमार केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, बाघचठौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी र गणपति कञ्चनकृष्ण बस्नेतले विजयी धावकलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा ५० वर्षभन्दा माथि, ५० वर्ष तल, १८ वर्षमुनि समूह र सुरक्षाकर्मीको बेग्लाबेग्लै समूह बनाएर दौड आयोजना गरिएको थियो । ‘सल्यान रन फर फन’ नाम दिएर जिल्लामा पहिलोपटक अयोजना गरिएकोे उक्त प्रतियोगितामा करिब ७०० व्यक्ति सहभागी थिए । यस्ता प्रतियोगिता सैनिक–नागरिक सम्बन्ध सुधारमा कोसेढुङ्गा सावित हुने सेनाले विश्वास लिएको छ । यसअघि पनि उक्त गणले स्थापनाको २५८औँ वार्षिकोत्सवका अवसरमा गौरीखर्क प्राथमिक विद्यालयका छात्रछात्रालाई स्टेशनरी सामान वितरण गरेको थियो । बालिबालिकालाई विद्यालयमा निरन्तर जान प्रेरित गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताइएको छ ।
रक्तदान र डढेलो नियन्त्रण नमूना प्रदर्शनी
गणले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा जिल्लामा बिरामीलाई रगतको अत्यावश्यक भएको खण्डमा रक्तदानसमेत गरी सहयोग गर्दै आएको छ । केही समयअघि सबुज गणले वन डढेलोका हिसाबले मुलुककै दोस्रो मानिएको सल्यान जिल्लामा डढेलो रोकथामका लागि डिभिजन वन कार्यालय र अन्य सुरक्षाफौजसँगको समन्वय र सहकार्यमा जनचेतना कार्यक्रम र नियन्त्रणसम्बन्धी नमूना प्रदर्शनीसमेत गरेको थियो ।

Translate »