कालिमाटीमा नागरिक आरोग्य केन्द्र स्थापना

स्काई न्यूज / फागुन २७, सुर्खेत ।
सल्यानको कालिमाटी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा सल्यान र कालिमाटी गाउँपालिकाको समन्वयमा नेपाल सरकारले ‘निरोगी नेपाल अभियान कार्यक्रम’ अन्तर्गत कालिमाटीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सरकारले ‘निरोगी नेपाल अभियान कार्यक्रम’ मार्फत देशका प्रत्येक स्थानीय तहमा अनिवार्य नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य लिएसँगै कर्णालीमा आरोग्य सेवा केन्द्र स्थापना गर्ने लहर चलेको छ । सेवा केन्द्रको बुधबार गाउँपालिका अध्यक्ष दानबहादुर खत्री, उपाध्यक्ष सहनशीलता डिसी ओली र राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर मदन बिसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । गाउँमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष खत्रीले विश्वास व्यक्त गरे ।

 

उनले गाउँमा सेवा केन्द्र सञ्चालनका लागि पहलगर्ने प्रदेश आयुर्वेद औषधालय सुर्खेतलगायत सबैप्रति आभार प्रकट गरे । ‘दुर्गममा रहेका सर्वसाधारण नागरिकलाई गाउँमै ल्याईएको नागरक आरोग्य केन्द्रबाट सर्व सुलभ तरिकाले स्वास्थ्य सेवा लिन सहज हुने विश्वास लिएको छु,’ उनले भने, ‘गाउँघरमै पुगेर आयुर्वेद उपचार सेवालाई प्रभावकारीरुपमा हरेक नागरिकसम्म पु¥याउन स्वास्थ्यकर्मीलाई आग्रह गर्दछु ।’ उनले नागरिक आरोग्य केन्द्र स्थापना पछि आयुर्वेद उपचार पद्धतिले लागेको रोगलाई निको पार्नुका साथै रोग नलाग्न दिन प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि भरपर्दो भएकाले नागरिकलाई लाभ लिन सुझाव दिए । उपप्रमुख सहनशीलताले पहिचानको अभावमा गाउँघरका जंगलमा खेर गईरहेका जडिबुटीको उपयोगिता र महत्व बढ्ने विश्वास व्यक्त गरिन् । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा सल्यानका बैद्य बालकृष्ण गिरीले नागरिक आरोग्य केन्द्रबाट नसर्ने रोग दम, बाथ रोग, अम्लपित्त, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मेनोेगत रोग, स्तनपान गराई राखेका आमाहरुलाई निःशुल्क उपचार, औषधि वितरण, जेष्ठनागरिकलाई रासायनिक औषधिलगायतका सेवा उपलब्ध हुने जानकारी दिए । कार्यक्रममा कालिमाटी गाउँपालिका–४, का वडाध्यक्षको अध्यक्षतामा भएको नागरिक आरोग्य केन्द्र स्थापना कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका सचिव छबिलाल खड्का, देवस्थल आयुर्वेद औषधालयका प्रमुख हेमन्त चन्दलगायतको शुभकामना दिएका थिए । संघीय सरकारले चालु आर्थिक वर्षमा मात्र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा हालसम्म एक दर्जन नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन ल्याईसकेको छ ।
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
कालिमाटीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाको अवसर पारेर कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा सल्यान र कालिमाटी गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा नसर्ने रोग दम, बाथ रोग, अम्लपित्त, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मेनोेगत रोग, स्तनपान गराई राखेका आमाहरुका निःशुल्क उपचार, औषधि वितरण,जेष्ठनागरिकलाई रासायनिक औषधिलगायत वितरण गरिएको थियो । राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर मदन बिसी नेतृत्वको १५ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले शिविरमा विभिन्न रोगको उपचार एवं औषधि वितरण गरेको स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा सल्यानका बैद्य बालकृष्ण गिरीले जानकारी दिए । उनले निःशुल्क शिविरबाट कालिमाटी आसपासका ५ सय बढी नागरिकले स्वास्थ्यलाभ लिएको बताए ।

 

Translate »