कर्णालीमा भेटिएका ४ शवको अछाम अस्पतालमा पोष्टमार्टम

फागुन २६,अछाम ।
कर्णाली नदीमा बेपत्ता भई शव प्राप्त भएका ४ जनाको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइएको छ । मङ्गलवार बेलुकी अछाम अस्पताल पुर्‍याइएका शवको आज पोष्टमार्टम गरिएको हो । दैलेख आठबीस नगरपालिका वडा नम्बर ३ निमायलकी ३८ वर्षीया सुकी बडुवाल, उनकी छोरी १४ बर्षिया कल्पना बडुवाल, १२ बर्षिया सरिता बडुवाल, ८ बर्षिय छोरा ललित बडुवालको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।आमा सुकी सहित एकै घरका पाँच जनाले गत आइतबार बेलुका करिब ६ बजेतिर दैलेखको बान्नेभीर भन्ने ठाउँबाट कर्णाली नदीमा हाम फालेका थिए । जसमध्ये ५ वर्षीया छोरी रजनी बडुवालको खोजी कार्य भइरहेको छ । बेपत्ता आमा सुकी र उहाँका छोरा ८ वर्षीय ललितको शव मङ्गलवार दिउसो १२ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा भेटिएको थियो भने कल्पना र सरिताको शव सोमबार दिउँसो सोही ठाउँ नजिकै भेटिएपछि पोष्टमार्टमका लागि अछाम अस्पताल ल्याइएको थियो ।

आइतबार घरबाट करिब ४ बजे निस्केकी सुकी सहित उनका छोराछोरी करिब २ घण्टाको पैदल दुरीपछि कर्णाली किनारमा पुगेका थिए । उनीहरूले एक आपसमा लुगाले बाँधेर हाम फालेको बुझिएको छ । ठुला दुई छोरीलाई सँगै बाँधेको अवस्थामा भेटिएको र सानी छोरी काखमा च्यापेर र छोरालाई सुकिले पिठ्युँमा बाँधेर हाम फालेको पाइएको उद्धारमा संलग्न मृतक सुकिका भतिजा जनक बहादुर भण्डारीले जानकारी दिए । छोरालाई पिठ्युँमा बाँधेकाले आमासँगै भेटिएका र काखमा लिएकी छोरी फुत्केको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक अवस्था हेर्दा घरायसी विवादले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । छोराको खल्तीमा चाउचाउ समेत भेटिएको छ । मृतक सुकीका श्रीमान् मानसिंह बडुवाल केही महिना अघि भारतबाट आएका थिए । उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए । छोरालाई नेपालगन्ज पढाउने योजना सहित उनी करिब एक वर्षपछि भारतबाट आएका समेत आफन्तले जनाएका छन् । नदीमा हाम फालेको ठाउँ नजिकै उनीहरूका चप्पल भेटिएका र थप बुझ्दै जाँदा उनीहरू नै भएको पाइएको सबैभन्दा पहिले घटनास्थल पुग्नुभएका मृतकका भतिजा जनक बहादुर भण्डारीको भनाई छ । हाम फालेको करिब १ सय मिटरमा माछा मार्न थापिएको झरेउलोमा सोमबार दुई छोरीलाई भेटाइएको र त्यही ठाउँ नजिकै आमा र छोरालाई भेटाइएको थियो । पोष्टमार्टम गरिएका शव मृतक सुकीका भतिजा प्रयाग बडुवाल र कमल थापाको जिम्मा लगाई बुझाइएको प्रहरीले जनाएको छ ।

Translate »