सिञ्जाको नराकोटमा आँखा उपचार केन्द्र सञ्चालन

सागर परियार / फागुन २६,जुम्ला ।
यहाँको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र आज उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । स्थानीय नागरिकको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा गरिएको हो । सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकको राहतका लागि आँखा उपचार केन्द्र सञ्चालन भएको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा नै जानु पर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र सञ्चालन गरिएको अध्यक्ष रावलले उल्लेख गरे । आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्थापन गाउँपालिकाले गरिसकेको समेत अध्यक्षले जानकारी दिए ।

सिञ्जा गाउँपालिकाका ८ वटै वडाका नागरिकले आँखाको उपचार अब सिञ्जामै गर्न पाउने भएका छन् । वर्षा लागेसँगै धुलो धुवाँका कारण जुम्ला गाउँमा आँखाका बिरामीहरू बढ्न थालेका छन् । बजार क्षेत्रभन्दा गाउँमा आँखाका बिरामी बढी हुने भएकोले सिञ्जामै सञ्चालन गरिएको आँखा उपचार केन्द्रबाट हजारौँ नागरिक लाभान्वित हुने सिञ्जा गाउँपालिकाको विश्वास छ । गाउँमै आँखा उपचार केन्द्र सञ्चालन हुँदा सिञ्जा गाउँपालिका स्थानीय नागरिक खुसी भएका छन् । सामान्य आँखाको समस्या हुँदा पनि सदरमुकाम आउजाउ गर्नु पर्ने, खान बस्न दोब्बर महँगो खर्च हुने समस्या भोगिरहेका नागरिकले गाउँमै आँखा उपचार केन्द्र भएपछि सस्तो र छिटो छरितो सेवा पाउनेमा विश्वस्त रहेको सिञ्जाका स्थानीयले बताएका छन् । सिञ्जामा सञ्चालन भएको आँखा उपचार केन्द्रले सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका सबै नागरिकलाई सेवा लिन सहज हुने सिञ्जा गाउँपालिका २ नम्बर वडाध्यक्ष नविन शर्माले बताए ।

Translate »