पानी नभएको गाउँमा विद्युतीय घट्ट

फागुन २६, रुकुम ।
पानी नभएको गाउँमा विद्युतीय घट्ट निर्माण गर्न थालिएको छ । रुकुम पूर्वका २ स्थानीय तहले पानी नभएको गाउँमा विद्युतीय घट्ट निर्माणको लागि अनुदान दिन थालेका छन् । भूमे र सिस्ने गाउँपालिकाले पानी नभएको गाउँका लागि विद्युतीय घट्ट सञ्चालन गर्न अनुदान दिएका हुन् । हिमाली जिल्ला हुँदा अधिकांश गाउँका उच्च स्थानमा बस्ती रहेकाले पानी घट्ट सञ्चालन गर्ने पानी नभएपछि स्थानीयले समस्या खेपिरहेका छन् । उक्त ठाउँका बासिन्दाले दिनभर समय लगाएर अनाज बोकेर पानी घट्टमा पिस्ने गरेका छन् । रुकुम पूर्वमा धान उत्पादन नहुने भएकाले मुख्य बाली मकै, गहुँ, जौ, दलहनलगायत बाली मात्र उत्पादन हुने गरेको छ । उच्च बस्तीका बासिन्दाको समस्यालाई दृष्टिगत गरेर भूमे र सिस्ने गाउँपालिकाले विद्युत् पहुँचमा रहेकालाई विद्युतीय घट्ट निर्माणका लागि अनुदान उपलब्ध गराएका छन् । यसले गर्दा दिनभरि लाग्ने समय बचत हुनुका साथै नजिक गाउँबाटै अनाज पिस्ने सेवा पाउँदा स्थानीय खुसी छन् ।सिस्नेको वडा नम्बर २ दत्कुनामा हालै मात्र गाउँपालिकाले ५ लाख रुपैयाँ अनुदानबाट विद्युतीय घट्ट निर्माण गरिदिएको छ । स्थानीय सरकारको अनुदानमा दत्कुनामा सामुदायिक विद्युतीय घट्ट बनाइएको हो । यसअघि स्थानीय घट्टबाट अन्न पिस्न दिनभरको समय खर्चेर जानुपर्ने बाध्यता थियो । सर्वसाधारणको सजिलोका लागि घट्ट बनाइएको वडाध्यक्ष जीवन केसीले बताए । बेँसी क्षेत्र नायगाडमा रहेका घट्ट पुग्ने, पिस्ने पालो कुर्ने र फर्कने गरी लामो समय लाग्ने दिनभरको काम अब चाँडै भइरहेको वडाध्यक्ष केसीले जानकारी दिए । समुदायले नै सञ्चालन गर्ने गरी घट्ट निर्माण गरिएको छ । घट्ट पिसेबापत प्रतिपाथी १० रुपैयाँ लिने र त्यसको रेखदेख तथा व्यवस्थापनका लागि १ जना मान्छे राखिएको छ । दैनिक बिहान ११ देखि ३ बजेसम्म मात्रै घट्ट सञ्चालन गर्ने गरिएको छ । यस अवधिमा २ देखि ३ मुरीसम्म अनाज पिस्ने गरिएको छ ।

उता भूमे गाउँपालिकाका युवा विद्युतीय घट्ट व्यवसाय चलाएर व्यावसायिक बन्दै गएका छन् । पानी घट्ट सञ्चालनको लागि टाढाको बाटो पर्नुका साथै वर्षातमा जोखिम हुने भएकाले गाउँपालिकाका केही युवा विद्युतीय घट्ट निर्माणबाट व्यावसायिक बन्दै गएका हुन् । भूमे वडा नम्बर ३ क्याङ्सीका युवा हिराबहादुर रोका मगरले विद्युतीय घट्ट सञ्चालनबाट आम्दानी लिँदै आएका छन् । गत आर्थिक वर्षमा गाउँपालिकाको कृषि शाखा कार्यालयमा रोकाले विद्युतीय घट्ट निर्माणका लागि अनुदान माग गरेका थिए । कृषि शाखाको ५० प्रतिशत अनुदानमा विद्युतीय घट्ट क्याङ्सी गाउँमै निर्माण गरेका हुन् । रोकाले मात्र नई गत आर्थिक वर्षमा भूमेको वडा नम्बर ६ महतमा पनि एक युवाले गाउँपालिकाको कृषि शाखाको ५० प्रतिशत अनुदानबाटै विद्युतीय घट्ट निर्माण गरेका छन् । विद्युत् खपतबापत मासिक २ हजार ८०० रुपैयाँसम्मको बिल आउने गरेकामा मासिक १८/१९ हजार रुपैयाँ आम्दानी भइरहेको रोकाले जानकारी दिए । ७० घरधुरी रहेको क्याङ्सी गाउँका स्थानीय विगत वर्षसम्म अनाज पिस्न टाढाको बाटो भएर पानीघट्टमा जानुपर्ने बाध्यता थियो । रोकाले गाउँमै विद्युतीय घट्ट सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाको कृषि शाखामा २ ओटा विद्युतीय घट्ट माग आएकामा यस आर्थिक वर्षमा ५ ओटा माग आएको कृषि शाखाका नाप्रास विशाल पुन मगरले बताए ।

Translate »