मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित ४ जना उपप्राध्यापकले दिए राजिनामा

फागुन २५, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकाय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त रुपमा राजिनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७र७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतवार राजिनामा दिएका हुन् ।

उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्ररूपमा परीक्षा दिएका परीक्षार्थीले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिएको बताए । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको बताए । ‘विद्यार्थीहरुले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानबिन गर्नैपर्छ ।’ स्कूल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने आइतवारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताका आधारमा संयुक्त राजिनामा दिएपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ । रासस

 

Translate »