सुर्खेतमा पेस्तोलसहित भारतीयमुलका नागरिक पक्राउ

फाइल तस्बिर

स्काई न्यूज /फागुन २३, सुर्खेत ।
सुर्खेतमा पेस्तोलसहित भारतीय मुलका नागरिक पक्राउ परेका छन् । हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६, शनिहललाईनबाट  भारतीयमुलका ३० वर्षीय साजित अली ईद्रिसलाई पेस्तालसहित पक्राउ गरेको हो । ईद्रिस पक्राउ परेपछि आफु भारतीय नागरिक भएको बताएपनि कागजात र अनुसन्धान गर्दे जाँदा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी रहेको खुलेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले पक्राउ परेका ईद्रिसलाई सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको बताए । उनका अनुसार ईद्रिसको साथबाट ७० थान छर्रा गोली पनि बरामद भएको छ । ‘शनिबार राति वीरेन्द्रनगर–६ को एक ग्यारेज खानतलासी गर्दा ईद्रिसलाई पेस्तोलसहित नियन्त्रणमा लिईएको हो,’ उनले भने, ‘बरामद पेस्तोल कहाँबाट कसरी ल्याइएको हो भन्ने बारेमा अझै स्पष्ट हुन नसकेकाले अनुसन्धान जारी राखिएको छ ।’ उनले पेस्तोलसहित पक्राउ परेका ईद्रिसलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कार्वाही अगाडि बढाईएको जानकारी दिए ।

Translate »