पुलिस क्लब उपाधितिर लम्कँदै

फागुन २३,नेपालगन्ज ।
लगातार दुई खेल जित्दै नेपाल पुलिस क्लब सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबलको उपाधितिर अग्रसर भएको छ । पुलिसले शनिबार स्थानीय टोली लुम्बिनी युनाइटेडलाई सहजै पराजित गर्‍यो । अघिल्लो दिन दाबेदार होङ्गान्जी न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको पुलिसले ५ अंक जोडिसकेको छ । पुलिसले नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार २५–८, २५–१२, २५–१४ को नतिजा निकालेको थियो । लगातार दुई खेल हारेपछि लुम्बिनीको उपाधि यात्रा व्यावहारिक रूपमै लगभग सकिसकेको छ । सिकारू टोली लुम्बिनीका लागि पुलिसविरुद्ध अन्तिम दुई सेटमा दोहोरो अंक जोड्नु नै ठूलो सफलता बन्यो । अघिल्लो दिन त्रिभुवन आर्मीविरुद्ध लुम्बिनीले तीन सेटमा गरी कुल २५ अंक पनि जोड्न सकेको थिएन । यता लगातारको जितले पुलिसलाई उपाधि दौडमा बलियो बनाएको छ । पुलिसका प्रशिक्षक रुपेश विष्ट उपाधितर्फ अहिले नै ध्यान लैजान चाहन्नन् । उनले लुम्बिनीविरुद्धको खेलमा आफ्ना खेलाडीलाई निकै प्रयोग गरेका थिए । आफ्ना प्रमुख खेलाडी मनीषा चौधरीबिनै लगातार दोस्रो खेलमा उत्रिएको पुलिसले कोपिला उप्रेतीलाई विश्राम दिँर्दै तिला चौधरी कोर्टमा उतारेको थियो ।


‘लुम्बिनी अलिकति कमजोर नै टोली हो, हामीलाई खासै त्यस्तो गाह्रो भएन । तर अघिल्लो दिनमा गरेको गल्ती सच्याउने मौका यस खेलमा पायौं । यस्तो खेल नयाँ खेलाडीलाई खेलाउने अवसर र मौका पनि हो,’ पुलिस प्रशिक्षक विष्टले भने, ‘खेल हो भन्न सकिन्न त्यसैले जितिन्छ नै भनेर म भन्दिनँ । जे पनि हुनसक्छ । मैले खेलाडीलाई आफ्नो प्रदर्शन दिनुपर्छ भन्दै आएको छु, त्यसपछि नतिजा भने आइहाल्छ । मलाई मेरो खेलाडीप्रति विश्वास छ र आगामी दुई खेलमा नतिजा पनि दिन्छ भन्ने विश्वास छ ।’ बाँके जिल्ला भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो दिन एपीएफले आर्मीलाई ३–१ सेटमा हराएको थियो । कडा प्रतिस्पर्धा भएको विभागीय ‘डर्बी’ मा आर्मीले पहिलो सेट २६–२४ ले जितेर सनसनी मच्चाएको थियो । दोस्रो सेटमा आर्मीले ६–३ को अग्रता सम्हाल्न सकेन र एपीएफले २५–२३ ले सेट आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट ८–८ को बराबरीबाट अघि बढ्दै एपीएफले २५–१६ को जित निकालेको थियो । सरस्वती चौधरी हाबी हुँदा यो बीचमा एपीएफले लगातार ९ अंक बटुलेको थियो । चौथो सेटमा आर्मीले कडा टक्कर दिए पनि एपीएफले २५–२३ ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यो । आर्मीले २१–१९ को अग्रतालाई कायम राख्न सकेन । एपीएफले आफ्नो पहिलो खेलमा जित निकाल्दै ३ अंक बटुलेको छ । (कान्तिपुर)

Translate »