फेरि बढ्यो खाने तेलको भाउ

फागुन २१ ,काठमाडौं ।
यो साता बजारमा खाने तेल र ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । प्रतिलिटर होलसेल २ सय रुपैयाँमा झरेको सोयबिनको तेलको भाउ पुनः २१५ रुपैयाँ पुगेको संघले जनाएको छ । तेलबाहेक अन्य खाद्यान्नको भाउ स्थिर रहेको संघका सदस्य ध्रुब अधिकारीले बताए ।यो साता ब्रोइलर कुखुराको मासु बर्डफ्लु हल्लाकै बीचमा पनि किलोमा ३० रुपैयाँसम्मले महँगो भएको छ । गत साता प्रतिकिलो २५० देखि ६० रुपैयाँसम्ममा कारोबार भएको मासुको भाउ अहिले २९० रुपैयाँभन्दा माथि पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

माग उस्तै हुनु र बर्डफ्लु हल्लाले उत्पादनमा कमी आउनाले मूल्य बढेको संघका अध्यक्ष रमेश खड्गीले बताए । यस्तै बजारमा धेरै बिक्री हुने रहु माछाको मूल्य पनि किलोमा ३० रुपैयाँले महँगो भएको उनको भनाइ छ । खसी, राँगाको मासु तथा बंगुरको मासु लगायतका मासुको भाउमा भने यो साता कुनै परिवर्तन भएको छैन ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो साता हरियो तरकारीको भाउमा सामान्य वृद्धि भएको छ । मुख्य गरेर च्याउको मूल्य किलोमा ३० देखि ४० रुपैयाँसम्मले बढेको समितिले जनाएको छ । यस्तै करेलाको भाउ पनि किलोमा ३० रुपैयाँसम्मले बढेको छ । साग, आलु, बन्दा, गोलभेडा जस्ता तरकारीको भाउमा झिनो घटबढ देखिएको छ भने मसलाजन्य कृषि उपजको बजार मूल्य केही मात्रामा घटेको छ । सुकेको प्याज, लसुन, धनिया, सुकेको खुर्सानी लगायतका तरकारीको भाउ किलोमा ३० रुपैयाँसम्मले घटेको छ । यस्तै फलफूलको मूल्यमा प्रतिकिलो १० देखि ३० रुपैयाँसम्म गिरावट आएको छ । फुजी स्याउको मूल्य प्रतिकिलो ३० रुपैयाँले घट्दा केरा, अंगुर, नेपाली सुन्तला लगायतको भाउ भने १० रुपैयाँले आरोलो लागेको छ । (अनलाईन खबर)

Translate »