आजबाट प्रशारण हुँदै ‘कमेडी च्याम्पियन २’

गतबर्षदेखि सुरु भएको हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन आजबाट टेलिभिजनमा प्रशारण हुँदैछ । यो शो आजदेखि हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ । गतबर्षबाट सुरु भएको रियालिटी शोले दर्शकको अत्याधिक माया पाएको थियो । यसैले पनि यसबर्ष दर्शकको मायालाई बचाइराख्न निकै मिहिनेत गरिएको निर्देशक विशाल भण्डारी बताउँछन् ।विशालका अनुसार, सुरुवातका ४ भागमा अडिसन राउन्ड प्रशारण गरिनेछ । पहिलो सिजनमा यसको निर्माणपक्षले अडिसन राउन्ड प्रशारण गरेको थिएन । तर, दर्शकले शोलाई अत्याधिक मन पराएपछि यसपटकदेखि अडिसन पनि प्रशारण गर्न लागिएको विशालले बताए । अडिसन राउन्ड ४ भागसम्म प्रशारण गरेपछि टप २४ राउन्डमा शो प्रवेश गर्नेछ । यसलाई निर्माणपक्षले ग्रान्ड प्रिमियर भनेको छ । थ्रि पोडक्शनले यो शोको निर्माण गरेको हो । शोको निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् । (अनलाईन खबर)

 

Translate »