२ हप्तामै हवाई भाडा बढ्यो

फागुन २१,काठमाडौं ।
स्वचालित मूल्य प्रणाली अनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज)देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू. ३५ देखि अधिकतम रू. २२० सम्म भाडा बढेको छ । नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य रू. ६७ पुर्‍याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रू. ७२ पुगेको छ । हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर रू. ५ ले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ । यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज रू. २२० ले वृद्धि भई रू.३ हजार १८० कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज रू. १७० ले बढेर रू. २ हजार ४७० पुगेको छ । सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज रू. २० ले बढेर रू. ३०० पुगेको छ । अधिकांश सेक्टरको सरचार्ज रू. ४० देखि रू. ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ ।

Translate »