सरकार र चन्द समूहबीच तीनबुँदे सहमति

प्रतिबन्ध हट्यो, बन्दी रिहाइ र मुद्दा खारेज गर्ने सहमति

फागुन २०,काठमाडौँ ।
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे । सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ । विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । सहमतिमा चन्द समूहले आफ्ना हिंसात्मक प्रदर्शन रोक्दै शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलापहरू अगाडि बढाउने उल्लेख भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ । त्यस्तै चन्द समूहमाथि लगाइएको प्रतिबन्ध र उक्त समूहका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने पनि सहमतिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् । सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

 

Translate »