‘पत्रकारितालाई राजनीतिक आवरणबाट बचाऔं’


पार्वती बयक/फागुन १९, सुर्खेत ।
पत्रकारितालाई राजनीतिक आवरणबाट बचाउनु पर्ने बेला आएको कर्णालीका पत्रकारहरुले बताएका छन् । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको स्वागत तथा सम्मान भेला कार्यक्रममा पत्रकार नेताहरुले पछिल्लो समय देशमा मूल्यहिन राजनीति घटनाक्रमले पत्रकारितामा समेत राजनीति गन्ध आउन थालेकाले यसबाट बचाउन जरुरी रहेको औल्याए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले पत्रकारिकता भित्रका थुप्रै समस्याप्रति चाँसो नदिएर राजनीतिक आवरणमा गलत संस्कारको विकास भईरहेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘पत्रकारिताको विकास तथा समस्याप्रति तथाकथित केही नामधारीहरु पत्रकारकै संघ, संगठनलाई खासै चिन्ता चाँसो छैन् । उनीहरुलाई त राजनीति आवरणमा पत्रकारलाई विभक्त बनाएर आफ्नो स्वार्थपूर्ति गर्ने कार्य बाहेक अरु नयाँ केही गरेको देखिदैन् ।’ उनले गलत संस्कार र चिन्तनलाई त्याग गर्दे पत्रकारको हक, हित र अधिकारका लागि सामूहिकरुपमा अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश इन्चार्ज वीरबहादुर गिरीले पत्रकारिता भित्रका विकृति, विसंगतिका विरुद्ध साझा आवाज बुलन्द गर्न आवश्यक रहेको बताए । उनले जन पत्रकारिताको मूल्य, मान्यता र आर्दश भन्दा बाहिर गएर गरिने कुनैपनि कार्यको कमलबाटै निरन्तर खबरदारी गर्न सुझाव दिए । देशमा सरकार परिवर्तन गर्ने खेल शुरु भएदेखि नै अस्थिरता र अराजकता बढ्दै गएकाले अवसरवादी र आत्मसमर्पणवादी गतिविधिले देशलाई लज्जित बनाएकाले पत्रकार समेत थप सचेत हुनु पर्ने बेला आएको उनको भनाइ थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद ठम्मर विष्टले देशमा पछिल्लो राजनीतिक घटनाक्रमले अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध लड्नु पर्ने बेला आएको बताए ।

उनले जनताको पक्षमा रातदिन खटिरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको राष्ट्रियता प्रतिको चट्टानी अडान देखेर आफ्नै पार्टी भित्रका केही नेताहरुको होस, हबास् उडेको जिकिर गरे । ‘होस, हबास् उडेका प्रचण्ड–माधव पक्षका नेताहरु तर्फ इंगित गर्दे उनले भने, ‘भारतलाई कम्फटेवल होईन, नेपाल र नेपालीलाई कम्फटेवल हुने सरकारको पक्ष पोषण गरौं ।’ उनले वर्तमान नेपाली राजनीतिको दिशालाई केही अनकम्फटेवल नेताहरुले अन्यौलता सृजना गरिदिएकाले विकास निर्माणको गतिलाई समेत अबरोध पुगि रहेको बताए । नेपालकै ईतिहासमा वर्तमान केपी ओली नेतृत्वको सरकारले विकासका थुप्रै काम गरिरहेको भन्दै यो अवधिमा १०/१२ वटा उत्तर–दक्षिण करिडोरसँगै खानी उद्योग, फास्ट ट्¥याक, सुरुङ मार्ग निर्माणलगायताका कामहरु भईरहेको उनले जानकारी दिए । भेलालाई नेकपाका केन्द्रीय सदस्य कुलमणि देवकोटा, भूमि सम्वन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष ऐनबहादुर चन्द, प्रेस संगठन नेपाल कर्णाली प्रदेश सह–ईन्चार्ज विष्णु शर्मा, कर्णाली प्रदेश संयोजक नरेश भण्डारी, लगायतले भेलाको सफलताका लागि शुभकामना व्यक्त गरे । प्रेस संगठन नेपाल सुर्खेतका संयोजक दिपेन्द्र ओली, सह–संयोजक गोविन्द खत्री, सह– संयोजक सीता ओलीले जिल्ला भेलालाई ईतिहासिकरुपमै सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

Translate »