कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए डोजर, गाडी र हेलिकप्टर

''स्कुलमा विज्ञानमा प्रयोगात्मक गर्न पाइँदैन, मलाई विज्ञानमा पढेका विषय बनाउन मन लाग्छ ।'' सागरले भने, ''टिकटकमा म जस्तै कुनै युवाले बनाएको भिडियो हेरेको थिएँ । त्यही आधारमा मैले पनि बनाएको हुँ ।''

फागुन १९,अछाम ।
अछामको मेल लेख गाउँपालिका वडा नम्बर ६ मा रहेको नन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सागर टमट्टाले डोजर, गाडी तथा हेलिकप्टर बनाएका छन् । सागरले काठ, स्लाइनको पाइपलगायतका घरेलु सामान प्रयोग गरेर डोजर, गाडी र हेलिकोप्टर बनाएका बनाई विद्यालयका शिक्षक तथा गाउँलेहरूलाई चकित पारेका छन् । विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परीक्षाका लागि केही सामग्री तयार गर्न भनेपछि सागरले विभिन्न नयाँ नयाँ उपकरण तयार गरेर सबैलाई अचम्ममा पार्दै आफूलाई अब्बल साबित गरेका छन् । कुनै पनि स्रोत बिना गाडी समेत मुस्किलले देख्न पाइने ठाउँमा बनाएका उपकरण देखेर विद्यार्थी, शिक्षक तथा अभिभावक पनि खुसी देखिएका विद्यालयका प्रधानाध्यापक कुलबहादुर रावलले बताए ।१६ वर्षका टमट्टाले गाउँ ठाउँमै पाइने पुराना फाटेको चप्पल, रेडियो, टेलिभिजन, स्लाइनको पाइप, चाउचाउको खोल तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गरेका हुन् ।

सागरले डोजर, बस, जिप, एम्बुलेन्स, हेलिकोप्टर तयार गरेका छन् । टीकटक हेरेको भरमा उपकरणहरू तयार गरेको सागरले बताए । ”स्कुलमा विज्ञानमा प्रयोगात्मक गर्न पाइँदैन, मलाई विज्ञानमा पढेका विषय बनाउन मनलाग्छ ।” सागरले भने, ”टिकटकमा म जस्तै कुनै युवाले बनाएको भिडियो हेरेको थिएँ । त्यही आधारमा मैले पनि बनाएको हुँ ।” एसइइको तयारी गरिरहेका सागरले पास भएपछि इलेकट्रोनिक्स इन्जिनियर पढेर प्रयोग गर्न मिल्ने गरी गाडी, डोजर बनाउने इच्छा राख्नु भएको छ । तर दलित समुदायका सागरको घरको आर्थिक अवस्थामा राम्रो छैन । सागरले तयार गरेका सामग्रीलाई पालिकाले प्रदर्शनी गर्ने योजना बनाएको सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा स्थानीय अगुवा हिरण्ड भट्टराईले बताए । नन्देश्वरी माध्यमिक विद्यालयले सीटीइभिटी सम्बन्धमा प्राविधिक विषय पढाउन थालेको छ । सागरको जस्तो प्रतिभा भएका विद्यार्थीलाई पालिकासँग समन्वय गरेर सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बताए । विद्यालयले प्रतिभावान् विद्यार्थीका लागि सहयोग कोष स्थापना गर्न पहल गर्ने भट्टराईले जानकारी दिए। विज्ञान र प्रविधिमा रुचि राख्ने १६ वर्षका सागर जिज्ञासु स्वभावका रहेको विद्यालयका प्रधानाध्यापक रावलले बताए। बिजुलीको वायरिङसमेत सागरले हेरेकै भरमा सिकेका छन्  ।

Translate »