लाईसेन्ससँगै जग्गा होल्ड गर्दे ‘मुक्तिश्री’

अन्यौलमा चौकुने सिमेन्ट उद्योग


स्काई न्यूज / फागुन १८, सुर्खेत ।
वि.सं २०३५ मा खानी तथा भूगर्भ विभागले सुर्खेतको चौकुने सिमेन्ट खानी सम्भाव्यता अध्ययन ग¥यो । चुनढुङ्गा र माटोको प्रारम्भिक परिक्षण गर्दा चौकुने क्षेत्रमा सिमेन्ट उद्योगकका लागि उपयुक्त भएको निष्कर्ष आयो । सोही निष्कर्ष अनुसार विभागले पुनः वि.सं २०३६ देखि २०३९ सम्म विस्तृत अध्ययन ग¥यो । करिब ३०० मिटर गहिराइसम्म डिर्लिङ गरी ढुङ्गा परीक्षण गर्दा लगभग ३ सय वर्ष पुग्ने चुनढुङ्गा रहेको निष्कर्ष आयो । बाटो परीक्षणका लागि चार वटा सुरुङ समेत निर्माण गरियो । अध्ययनपछि तत्काल सिमेन्ट उद्योग सञ्चालनमा आउने र गाउँमै रोजगारी पाइने आशा चौकुनेवासीको थियो । तर देशको विषम राजनीतिक परिस्थिति र पूर्वाधारको अभाव देखाउँदै उद्योग सञ्चालमा आउन सकेन । माओवादी सशस्त्रयुद्ध सुरुवातसँगै उद्योग सञ्चालनको विषय पनि सेलायो । दश वर्षपछि उसैगरी पुनः चौकुनेको चर्चा सुरु भयो । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै चौकुने सिमेन्टको चियो चर्चो सुरु भयो । नभन्दै आर्थिक वर्ष २०६२/०६३ मा मुक्ती श्री प्रालिले सिमेन्ट उद्योग सञ्चालनको अनुमति पायो । दुर्भाग्य अनुमति पाएपनि चर्चामै सिमित हुने चौकुनेलाई मुक्तीश्रीले पनि उन्मुक्ति दिलाउ सकेन । बरु ‘चौकुने सिमेन्ट उद्योगको लाईसेन्स होल्ड गर्ने काम भयो अनुमति लिएको डेढ दशसम्म पनि उद्योग सञ्चालनको कुनै प्रक्रिया अघि बढाउन नसकेपछि ३९२७५ नम्बरको उद्योग सञ्चालन अनुमति खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा प¥यो । मुक्तिश्रीले पूर्वाधारको अभावले उद्योग सञ्चालन गर्न नसकिएको तर्कपछि अनुमति नविकरण (रिन्यु) ग¥यो । बहसमा मुक्तिश्रीको एउटै तर्क थियो जबसम्म चौकुनेसम्म विद्युत र सडक पुग्न सक्दैन तबसम्म उद्योग सञ्चालन गर्न सकिदैन । उसो त चौकुनेमा अहिलेसम्म गतिलो मोटर बाटोसम्म पुग्न सकेको छैन । तर हाल आएर मुक्तिश्रीले फेरि उद्योग सञ्चालनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
उद्योग सञ्चालन अन्यौलमा
चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको करिब डेड दशक बित्दासम्म सरकार र ठेकेदार कम्पनीको मिलेमतोमा चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि आयोजनाको अगाडि बढ्न नसकेको हो । सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । एकसरो बाटो खनेर गुटुको भाप्रखोलादेखि कुँवासम्म डोजर पु¥याईएपछि फर्केर आउन सकेको छैन् । कम्पनीले काम अघि नबढाइ पटक–पटक म्याद मात्र थप्दै आएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । विभिन्न समस्या देखाउँदै उद्योग सञ्चालन तर्फ बेवास्ता गर्दे आएको कम्पनीले चौकुने क्षेत्रमा बढी से बढी जग्गा हथियाउने योजनामा छ । स्रोतका अनुसार लाईसेन्स ‘होल्ड’ गरिरहेको कम्पनीले केही स्थानीय विभिन्न प्रलोभन दिएर जग्गा हथियाउने तयारी शुरु गरिसकेको छ । जग्गा र लाईसेन्स दुबै आफ्नो पोल्टामा पारेपछि कम्पनीले भविष्यमा आफु अनुकुल बेच्न वा सञ्चालन गर्न सहज हुने देखिन्छ । कम्पनीका प्रतिनिधि लोकबहादुर अधिकारीले कार्यालय सञ्चालनका लागि चौकुनेमा ३ रोपनी जग्गा खरिद गरिसकेको जनाए । उनले सिमेन्ट कारखाना सञ्चालनका लागि चौकुने गाउँपालिकाकै सुनाकाँडमा करिब ४ सय रोपनी जग्गा खरिदको अन्तिम तयारी रहेको बताए । उनका अनुसार सरकारले उपलब्ध गराउने सडक, विद्युतलगायतका काम नगरेपनि कम्पनीले बाहिर देखिने गरि आन्तरिक कार्य गरिरहेको छ । ‘खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ,’ उनले भने, ‘आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।’ उनले खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको जानकारी दिए । उनका अनुसार कारखानाका सञ्चालन लागि करिब १० अर्ब लागत लाग्ने अनुमान छ । उनले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको जनाउँदै खानीसम्मै पहुँच मार्ग बनिसकेकाले बाँकी काम दु्रत गतिमा अघि बढाउने बताए । ‘सरकार र स्थानीयवासीले काम गरेनन् भन्ने आरोप लागेकाले चालु आर्थिक वर्षमा प्लान्ट राख्न जग्गा अधिकरणको काम सम्पन्न गर्दैछौं’, उनले भने, ‘यहीं वर्ष प्लान्टको काम र कारखानाको सामग्री खरिद गर्ने प्रक्रिया सुरु गछौं ।’


आलटाल गर्दे कम्पनी
कम्पनीले सडक, विद्युत लगायतको समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको बताएको छ । सिमेन्ट कारखाना सञ्चालन गर्न करिब १४ मेगावाट विद्युत् आवश्यक पर्नेछ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । चुनढुङ्गा उत्खनन कार्य सुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले ‘खानी होल्ड’ गरेको आरोप लगाउँछन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरिद–बिक्री रोकेको बताउँछन् । कारखाना सञ्चालन होला भन्ने आशा मरिसकेको उनले बताए । विभिन्न कारण देखाउँदै कम्पनीले सिङ्गो खानी क्षेत्र कब्जा गरेको सरोकारवाला बताउँछन् । उनले भने, ‘आयोजना सञ्चालन गर्नमा स्थानीयवासीको पूर्ण समर्थन छ । वर्षौंदेखि अनुमतिपत्र होल्ड गर्ने तर काम अघि नबाउँदा अन्यौलता बढेपछि कामै अघि बढ्ला भन्ने आशा मरिसक्यौँ ।’


सरकार र ठेकेदार उत्तिकै दोषी
बहुचर्चित चौकुने सिमेन्ट उद्योगको काम शुरु नहुनुमा सरकार समेत दोषी देखिएको स्थानीय बताउँछन् । सरकारले उद्योगसम्म जाने आवश्यक भौतिक पूर्वाधार पुरा गर्न नसक्दा उद्योग सञ्चालनमा आउन नसकेको गुटुका समाजसेवी काशीराम देवकोटाले जनाए । उनले उद्योग सञ्चालनका लागि आवश्यक सडक, बत्ती र सुरक्षाको व्यवस्था पुरा गर्ने जिम्माको सम्झौता सरकारले उद्योग सञ्चालकसँग गरेको भएपनि खुद कार्यान्वयन नगर्दा उद्योग सञ्चालन अन्यौलमा रहेको बताए । सरकार आफैले गरेको सम्झौंता पुरा गर्न नसक्दा सिमेन्ट उद्योग सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । सरकारले सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्ति श्री प्रालिसँग चार वर्षमा काम शुरु गर्ने गरी आर्थिक वर्ष २०६३÷०६४ मा लाइसेन्स दिएको थियो । उद्योग सञ्चालनको जिम्मा पाएको मुक्ति श्री प्रालिले भने सडक, बत्ती नभईकन उद्योग सञ्चालन गर्न नसकिने जनाएपछि उद्योग नबन्ने संकेत देखिएको हो । चौकुने सिमेन्ट उद्योगको बारेमा जहिले आवाज उठाउँदै आएको कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघले भने ठेकेदार र सरकारकै कमजोरीले गर्दा उद्योग स्थापना हुन ढिलाइ भएको बताएको छ । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले ठेक्का लिने अजय सुमार्गीको लापरबाही र राज्य उदासिन भएकाले उद्योग सञ्चालन हुन नसकेको बताए । उनले भने, ‘उद्योग सञ्चालनको जिम्मा लिएको कम्पनीले ९० दिनमै काम शुरु गर्ने, ५ वर्षभित्रै उत्पादन शुरु गर्ने भनि टेण्डर लिने अहिले दुनियाका बहानाबाजी गरेर मुकर्न मिल्दैन् ।’ खानी विभागले २०३५ सालदेखि २०३९ सालसम्म चौकुने र बड्डिचौरसंगैको लखरपाटामा ड्रिलिङ गरी ढुंगा परीक्षण गरेको थियो । करिव ३०० फिट गहिराईसम्म ड्रिलिङ्ग गरी ढुंगा परीक्षण गरिएको थियो भने ७ वटा पिलरसमेत निर्माण गरिएका छन् । करिब ९ अर्ब रुपैयाँको लागत लाग्ने अनुमान गरिएको सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक २ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुने, धेरैले रोजगारी पाउन सक्ने बताइन्छ । सिमेन्ट उद्योगको क्षेत्रफल ४ वर्ग किलोमिटर रहेको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ ।

Translate »