व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण, स्थानीय खुसी

१५० घरधुरीका ७ सय जना नागरिक लाभान्वित

सागर परियार/फागुन १८,जुम्ला ।
जुम्लाको पातारासी गाउँपालिका–५ जप्ना गाउँमा व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण गरिएको छ । अहिले सम्म खोलाकै पानी प्रयोग गरिरहेका जप्ना गाउँका नागरिकको समस्यालाई बुझ्दै स्थानीय युवा कृष्णविर बुढाको व्यक्तिगत लगानीमा गाउँमा धारा निर्माण भएको हो । गाउँमा धारा निर्माण भएपछि स्थानीय नागरिकलाई राहत भएको छ । गाउँमा धेरैपछि व्यवस्थित धारा निर्माण हुँदा पातारासी गाउँपालिका–५ जप्ना गाउँका १ सय ५० घरधुरी नै खुसी भएको स्थानीय कृष्ण बोहोराले बताए । उनका अनुसार जप्ना गाउँका डेढ सय घरधुरीका करिब ७ सय भन्दा बढी जनसङ्ख्या खानेपानी धाराबाट लाभान्वित हुने भएका छन् । पुराना धारामा पानी कहिले आउने र कहिले नआउने समस्या थियो । खोलाकै पानी पिउन बाध्य थियौ । तर स्थानीय युवा कृष्णविर बुढाको व्यक्तिगत लगानीमा गाउँमा व्यवस्थित धारा बनेपछि राहत भएको स्थानीय महिला हाँसु बुढाले बताए  । उनका अनुसार गाउँमा धारा निर्माण हुँदा सधैँ घरधन्दा गर्ने गृहिणी महिला खुसी भएका छन् ।

जप्ना गाउँकै स्थानीय युवा समाजसेवी कृष्णविर बुढाले गाउँमा धारा निर्माण गर्न मात्रै ५० हजार लगानी गरेका हुन् । लगानी हेर्दा थोरै देखिए पनि त्यही थोरै लगानीले दुर्गम जप्ना गाउँका ७ सय नागरिक शुद्ध खानेपानी पिउन पाउने भएका छन् । विकेनी खोलाको मूलबाट महादेव मन्दिर हुँदै जप्ना गाउँ सम्मको एक किलोमिटर पाइप, सिमेन्ट, गिट्टी, बालुवालगायत सबै सामाग्री व्यक्तिगत लगानीमै खरिद गरेर धारा बनाइएको छ । खोलाकै पानी खाइरहेका स्थानीयलाई राहत हुने मनसायले थोरै लगानी गरेको युवा कृष्णविर बुढाले बताए ।उनले भने,“सधैँ सरकारकै मुख ताक्नु पनि हुदैन् । समाजमा एकता भएर थोरै लगानी थोरै श्रमदान गर्दा उदाहरणीय काम गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका हौ ।” साथै कृष्णविर बुढाको ५० हजार स्थानीयको जनश्रमदान गरी करिब १ लाखको लागतमा धारा निर्माण भएको छ । सामान्य लगानी गर्न नसकेर स्रोत हुँदाहुँदै पनि खोलाकै पानी खाइरहेका जप्ना गाउँका स्थानीयले सामाजिक हितका लागि युवा कृष्णविर बुढाले गरेको लगानी प्रति प्रशंसा गरेका छन् । व्यक्तिगत लगानीमा निर्माण भएको उक्त धारा गएको हप्ता ५ नम्बर वडाध्यक्ष डिल बहादुर बुढाले उद्घाटन गरे ।

 

Translate »