३० क्वीइन्टल जुम्ली ‘मार्सी र सिमि’ जापान निर्यात

अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सीको माग बढ्दै

सागर परियार/फागुन १७,जुम्ला ।
विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक जुम्लाको ३० क्वीइन्टल मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुडका सञ्चालक राज शाहीले पहिलो पटक जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन । व्यावसायिक रुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पहिलो पटक जापानमा ३ टन जुम्ली मार्सी र सिमी निर्यात भएको अग्र्यानिक एन्ड सुपरफुडका सञ्चालक राज शाहीले बताए । उनका अनुसार जापानको राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा १० क्वीइन्टल मार्सी चामल तथा मासको दाल, २० क्वीइन्टल सिमी र १० किलो स्याउको चाना गरी ६ लाख बराबरको ३० क्वीइन्टल कृषि बस्तु निर्यात गरिएको छ ।

पछिल्लो समय जुम्ली मार्सी र सिमीबारे नेपाली सञ्चार माध्यममा आएको समाचार पढेपछि जापानबाट एकाएक माग आएको उनको भनाई छ । गएको शुक्रवार नेपालबाट पठाइएको ३ टन मार्सी र सिमी आगामी ३५ दिन भित्र विरगंजको बन्दरगाह हुँदै जापान पुग्ने शाहीले उल्लेख गरे । भने, अबको एक महिना पछि जापानको बजारमा पनि जुम्लाको मार्सी, सिमी, मासको दाल तथा स्याउको चानाको स्वाद पाइने छ । व्यापारी शाहीले भने,“विगतमा उपहार र कोसेलीको रुपमा जापानमा मार्सी सिमी गयो होला । तर कर्णालीका कृषि बस्तुको व्यवसायीक रुपमा निर्यात भएको पहिलो पटक हो ।” कर्णालीका किसानको जीवनस्तर उकास्ने सँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल हुने शाहीको दाबी छ ।
क्यानडा निर्यातको अन्तिम तयारी
२० टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको उनले बताए । क्यानडास्थित लायम फुड कर्पोरेसनका डाक्टर पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात गर्न लागिएको छ । नेपालबाट क्यानडा पठाइने सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने राजले जानकारी दिए । क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको र केही दिनमै निर्यात गरिने बताइएको छ । क्यानडा पठाउनका लागि अहिले प्याकिङ भइरहेको छ । जापानमा सहजै सामान पठाएका शाहीलाई क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको छ । क्यानडामा नेपालबाटै प्याकिङ गरेर पठाइने हुँदा अप्ठ्यारो परेको उनले बताए । काठमाडौँको नयाँ बानेश्वरमा रहेको जुम्लाघर अग्र्यानिक्समा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुरको बजारीकरण भइरहेका छ ।

Translate »