१४ करोडमा घरको छाना फेरिँदै

फागुन १६,जुम्ला। 
कर्णालीका अतिविपन्न नागरिकका घरको छाना फेरिने भएको छ । विपन्न नागरिकको घर माटाको छानामुक्त बनाउने सरकारी अभियानअन्तर्गत साविक कर्णालीमा दुई हजार नौ सय विपन्नको घरको छाना फेरिँदै छ । आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाका २९ सय घरधुरीमा नयाँ छाना छाउने तयारी भइरहेको छ । साविक कर्णालीका पाचै जिल्लाका २९ स्थानीय तहमा विपन्न नागरिकको तथ्यांक संकलन भइरहेको छ । विपन्न नागरिक नछुट्ने गरी छनोट हुने र छनोट पश्चात स्थानीय तहमै बजेट पठाइने छ । प्रतिघरले छाना फेर्न ५० हजार पाउने छन् । भत्किनै लागेको पर्खाल मर्मत तथा माटाको छाना फालेर नयाँ जस्ताको छाना हालिने कार्यक्रममा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्र खड्काले बताए ।

प्रतिघरलाई ५० हजारका दरले दिँदा छाना फेर्न करिब १४ करोड ९७ लाख ५० हजार लगानी लाग्ने छ । उनले भने, “ग्रामीण क्षेत्रका अधिकांश विपन्न नागरिक माटाको छाना भएका घर चुहिन्छन् । न्यानोका दृष्टिले माटाको छानो भएका घर उपयुक्त भए पनि नागरिकहरू युग सुहाउँदो विकास चाहाँदै छन् । त्यसैले जस्ताको छाना हाल्नेमा नागरिकको आकर्षण देखिएको छ ।” प्रतिघरधुरीलाई ५० हजारका दरले दिँदा पाँच जिल्लाका २९ सय घरका लागि करिब १ करोड ४९ लाख बजेट छाना फेर्न लगानी गरिने सबइन्जिनियर खड्काको भनाइ छ । कर्णाली प्रदेश सरकारको विपन्नका घर माटो तथा खरको छानामुक्त बनाउने कार्यक्रमअन्तर्गत साविक कर्णालीका पाँच जिल्लामा आवास व्यवस्थापन कार्यक्रमका रूपमा सञ्चालन भएको छ ।

 

कुन जिल्लामा कति घर र बजेट
विपन्न नागरिकको आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत १ करोड ४९ लाख बजेट लगानीमा साविक कर्णालीका २९ सय घरको छाना फेरिँदै छ । जसमा जुम्लामा ५ सय ६, डोल्पामा ५ सय १२, कालिकोटमा ९ सय ६, मुगुमा ५६४ र हुम्लामा ५ सय ७ गरी साविक कर्णालीका पाँच जिल्लामा २ हजार ९ सय ९५ घरधुरीका छाना फेर्ने तयारी भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ । कालिकोटमा ९ सय ६ घरको छाना छाउनका लागि सबैभन्दा बढी २ करोड ८२ लाख बजेट विनियोजन भएको छ भने जुम्लामा २ करोड ५३ लाख, डोल्पामा २ करोड ५६ लाख, मुगुमा २ करोड ८२ लाख र हुम्लामा २ करोड ५३ लाख ३० हजार गरी जम्मा १४ करोड ९७ लाख ५० हजार लगानीमा कर्णालीका पाँच जिल्लाका २९ सय ९५ घरका छाना फेर्ने सघन सहरी तथा भवन निर्माण आयोजनको कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्र खड्काले बताए । (कारोबार)

Translate »