कर्णालीमा नागरिकमैत्री प्रहरी ऐन बनाउने तयारी

सागर परियार / फागुन १५,जुम्ला ।
कर्णाली प्रदेशमा नागरिकमैत्री प्रदेश प्रहरी ऐन बनाउने तयारी भएको छ । जुम्लामा शनिवार आयोजित प्रदेश प्रहरी ऐनबारे अन्तरक्रिया कार्यक्रममा नागरिक मैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर प्रहरी ऐन बनाउनु पर्नेमा छलफल भएको हो । कर्णाली प्रदेश प्रहरी ऐन मस्यौदा तयारका आधार, सीमा र सम्भावनाका बारेमा नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मीबिच बहृत्त छलफल गरिएको छ । कार्यक्रममा पूर्व डिआइजी सुरेन्द्र बहादुर शाहले अबको प्रहरी कस्तो हुनु पर्छ? प्रहरीको सेवा र आचरण कस्तो हुनु पर्छ ? भन्ने राय सङ्कलनका लागि जिल्ला जिल्लामा पुगेर अन्तरक्रिया गर्न थालिएको बताए । प्रहरीको सेवामा सहजता, नागरिकमैत्री प्रहरी, मानव अधिकारमैत्री प्रहरी, व्यावसायिक र आधुनिक प्रहरी, निष्पक्ष पारदर्शी र प्रभावकारी प्रहरी र स्वच्छ र विश्वसनीय प्रहरी हुनुपर्ने आधारलाई प्राथमिकता दिएर कर्णाली प्रदेशको प्रहरी ऐन बनाइने पूर्व डिआइजी सुरेन्द्र बहादुर शाहले बताए। कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले समाजमा कानुन कार्यान्वयनदेखि शान्ति सुरक्षालाई मजबुत बनाउन व्यवहारिक तथा आधुनिक प्रहरी सेवा आवश्यक रहेको बताए । प्रहरी कानुनको रक्षकसँगै नागरिकको हरेक सुख दुखको साथी पनि हो भन्ने खालको सेवा दिने ऐनको निर्माणमा जुटेको मन्त्री भण्डारीले उल्लेख गरे । प्रदेश प्रहरी मस्यौदाका विषयमा सबै सरोकारवाला निकायसँग घनीभूत छलफल गरेर देशकै नमुना प्रहरी ऐन बनाउने कसरतमा जुटेको कानुन मन्त्रालयका कानुन अधिकृत एकराज चौलागाइले बताए ।

Translate »