५ वर्षमा अछाममा ५ प्रतिशत बन क्षेत्र बढ्यो

फागुन १४,अछाम ।
अछाम जिल्लामा विगत ५ वर्षको अवधिमा करिब ५ प्रतिशत वन क्षेत्र बढेको पाइएको छ । आर्थिक बर्ष २०७१र०७२ मा ५७ प्रतिशत बन क्षेत्र रहेको अछाममा हाल करिब ६२ प्रतिशत वन क्षेत्र रहेको डिभिजन बन कार्यालय अछामले जनाएको छ । पछिल्लो केही बर्ष यता जिल्लाका बनको क्षेत्र बढेको र ५ वर्षको अवधिमा ५ प्रतिशत वन क्षेत्र बढेर ६२ प्रतिशत पुगेको डिभिजन वन कार्यालय अछामका प्रमुख नारायण देब भट्टराईले जानकारी दिए । उनले पहिले नाङ्गा रहेका डाडाँहरुमा पनि अहिले बृक्षारोपका कारण हरियाली देखिन थालेको बताए । जिल्लामा राष्ट्रिय, सामुदायिक, कबुलियत, धार्मिक लगायतका बन रहेका र संरक्षणमा चेतना बढ्दै गएकाले वन क्षेत्र बढेको पाइएको उनले बताए ।

बनको संरक्षण सम्वद्र्धन र उपयोग गर्ने अधिकार अब स्थानीय सरकारको रहेकाले यो समय बन डढेलो लाग्ने समय भएकाले स्थानीय सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको उनले बताए । बन ऐन अनुसार बनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठ पात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत सामुदायिक बन, ग्रामीण तथा सहरी बन, धार्मिक बन, कबुलियत बन र साझेदारी बनको संरक्षण, संवर्द्धन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समूहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ । बन डिभिजन कार्यालय अछामले जङ्गली जनावरबाट पीडित व्यक्तिहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । बन कार्यालयले गत वर्षको मङ्सिरदेखि यो वर्षको भदौसम्म जङ्गली जनावरबाट क्षति भएका ३२ जनालाई राहत उपलब्ध गराएको हो । २४ जनाको पशु, ३ जनाको तरकारी बाली नष्ट, ५ जनाको मानवीय क्षति भएकाहरूलाई राहत क्षतिपूर्ति उपलब्ध गराइएको बन कार्यालयले जनाएको छ ।

 

Translate »