सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला

फागुन ११, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मंगलवार प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।  फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिए । गत माघ ४ गते आइतवारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस शुरु भई यही फागन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो । रासस

Translate »