सर्वसाधारणका जिज्ञासा सञ्चारमाध्यममा किन आउँदैनन्

मलाई चित्त नबुझेको एउटा कुरा के हो भने हाम्रो मुलुकमा धेरै परिवर्तन भए । परिवर्तनरूपी समाजमा विकृति र विसंगति पनि उत्तिकै मात्रामा थपिए । समाजमा भएका विकृति–विसंगतिविरुद्ध आवाज निकाल्ने धेरै संघसंस्थाहरू पनि जन्मिए । तर, अझै पनि हामी नियालेर हेर्न सक्छौं, विकृति र विसंगतिविरुद्ध आवाज निकाल्ने कुनै पनि संस्था वा सञ्चारमाध्यम अघि सरेको देखिँदैन । मुलुकमा राजसंस्थाको समाप्तिपछि लोकतन्त्रको पुनस्र्थापना भयो । जनताको बहुदलीय निर्वाचनले ल्याएको राजनीतिक परिवर्तनले लोकतन्त्रको स्थापना भई मुलुक संघीय गणतन्त्रतिर उन्मुख भयो । तर, मुलुकमा नेपाली जनताले आखिर के पाए त ? त्यही महँगी, कालोबजारी र भ्रष्टाचारले रुमल्लिएको अर्थतन्त्रमा मानिसहरूको दैनिकी, त्यत्ति होइन ? झन् अहिले त २१ औं शताब्दीमा आएर धेरैभन्दा धेरै सञ्चारका साधनहरूको विकास भइसकेको छ । मानिसहरूको हातहातमा स्मार्ट मोबाईल फोन आइसकेका छन् ।

युट्युबरहरूले मुलुकमा व्यापक जन्म लिइसकेका छन् । कोही नेपाली पनि सूचना लिनबाट वञ्चित हुनुपर्ने अवस्था छैन । तर, अहिले जति पनि समाचारहरू आइरहेका छन्, ती सबै राजनीतिक गन्ध भएकै समाचार प्रसारण वा सम्प्रेषण भइरहेको सुन्दा वा देख्दा कताकता सबै ठूला मिडियाहरू राजनीतितिर होमिएका त छैनन् भन्ने लाग्छ । केही दिनअघि मात्रै काठमाडौंको नारायणहिटी राजदरबारअगाडि प्रधानमन्त्रीको भाषणका लागि धेरै सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण पनि गरे । बन्द–हड्ताल, चक्काजामजस्ता गतिविधिहरूले प्रमुख स्थान पाए । हरेक दलका नेताहरूको भाषणमा समाचारले प्रमुख स्थान पाउँछन् । के अब सधैं राजनीतिक कुराहरूलाई मात्र बढी प्राथमिकता दिने हो त ? आमसर्वसाधारण मानिसहरू, जो दैनिक ज्यालादारी गरी खानेहरू छन्, उनीहरूका समाचार सरकारसामु कहिले नपु(याउने ? उनीहरूको समस्या सरकारले कहिले सुन्ने ?स्थानीय स्तरमा, केन्द्रीय स्तरमा वा प्रादेशिक स्तरमा किन नहोस्, आमजनताको समस्या समाधानका लागि किन सञ्चारमाध्यमले खोजमूलक समाचारको विकास गर्दैन ? किन दैनिक गुजारा गर्ने मानिसका समस्याहरूको समाचार बन्दैन ? अझै पनि मुलुकका धेरै जिल्लामा गरिबीको रेखामुनि रहेका धेरै मानिस छन् । खान नपाएर भोकभोकै रात कटाएका मानिसहरू पनि उत्तिकै छन्, उनीहरूका समस्या किन समाचार बन्दैनन् ? यदि सबै सञ्चारमाध्यमले अनुसन्धान गरेर वास्तविक पीडितका समस्या उजागर गर्ने हो भने कोही मानिस पनि प्रायः भोको बस्नु पर्दैन । यसमा सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका रहन्छ ।

धेरै राजनीतिक खबरहरू आए र उनीहरूले मात्र मुलुकमा प्राथमिकता पाए । अब जाग्नुहोस्, मुलुकमा विद्यमान रहेको विकृति र विसंंगतिको अन्त्य गर्नतर्फ लाग्नुहोस् । हरेक घरघरमा गएर किसानका समस्या बुझ्नुहोस् । स्वास्थ्य सेवाको कमीले बर्सेनि हजारौं आमाहरूले ज्यान गुमाइरहेको पीडा बुझ्नुहोस् । बाटोमा मकै पोल्दै गरेकी आमाहरूको कुरा सुन्नुहोस । उखु किसानहरूले समयमा भुक्तानी पाएका छन् कि छैनन् ? उनीहरूको कुरा सुन्नुहोस् । बर्सेनि बीउबिजनको कमीले हजारौं हेक्टर जमिन बाँझै रहेको किसानका कुराहरू सुन्नुहोस् । बेरोजगारी समस्याले ऊर्जावान् युवाहरू खाडी मुलुकमा जानुपरेको बाध्यताको विषयमा बुझ्नुहोस् । र, यी सबै समस्याको समाधानका लागि सधैं नै सरोकारवालाहरूलाई ढकढक्याउनुहोस् । अनि किन हुँदैन समस्याको समाधान । जनताले राज्यलाई तिरेको करले ठूला भनाउँदाहरूले मोज गर्न हुन्छ भने त्यही जनताको कुरा सुन्न हुन्छ कि हुँदैन ? अब सबै सञ्चारमाध्यमले आमजनताका लागि भित्रैदेखि जाग्नु जरुरी छ । यहाँ राजनीतिक दलका भाषणबाजीले जनताले कहिल्यै सुख पाएनन् । अब शून्य तहबाट श्रम गर्ने जनताको आवाज निकाल्नु जरुरी छ । (कारोबार)

Translate »