कर्णाली प्रदेश लोक सेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त

काँग्रेस कोटाबाट संसदीय दलका नेताकै श्रीमती


स्काई न्यूज /फागुन ६, सुर्खेत ।
कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् ।नवनियुक्त अध्यक्ष र सदस्यहरुले विहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सदस्यद्वय बसन्तीकुमारी सिंह शाही, भक्तबहादुर खड्काले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (४) बमोजिम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गठित सिफारिस समितिले फागुन २ गते उनीहरुको नाम सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम तीनैजनालाई बिहीबार प्रदेश प्रमुख कलौनीले अध्यक्ष र सदस्य पदमा नियुक्त गरेका हुन् । नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख कलौनीले पद तथा गोपनीयताको सपथ गराएका छन् । सदस्यद्वय शाही र खड्कालाई अध्यक्ष उपाध्यायले सपथ ग्रहण गराएका हुन् । लोकसेवा अध्यक्षमा नियुक्त भएपछि उपाध्यायले आफू संविधानलाई टेकेर ऐन, नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिकृया दिएका छन् । उनले इमान्दारीपूर्वक र निष्पक्ष ढंगले काम गर्ने बताए । प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमै प्रदेश लोकसेवा आयोग कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । तर हालसम्म कार्यालयको व्यवस्थापन नभएका कारण नवनियुक्त पदाधिकारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थापना गरिएको अस्थायी कार्यालयमा रहेर काम गर्ने छन् ।


लोकसेवा आयोगमै भागबण्डा
कर्णाली प्रदेशको लोकसेवा आयोगका पदाधिकारी चयनमा राजनीतिक दलको कोटा प्रणाली लागू भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेका हुन् । तीन सदस्यीय समितिले छानेका सदस्य नेकपाको दुई खेमा र कांग्रेसका परेका छन् । अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता शाहीले भने आफ्नै श्रीमती बसन्ती कुमारी सिंह शाहीलाई लोकसेवा आयोगको सदस्य बनाएका छन् । अध्यक्षमा रामप्रसाद उपाध्याय र अर्का सदस्यमा भक्तबहादुर खड्का नियुक्त भएका छन् । पूर्व क्षेत्रीय शिक्षा निर्देशक उनी वीरेन्द्रनगर–१२ स्थानीय हुन् । उनी मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका हुन । त्यस्तै अर्का सदस्य खड्का पूर्व शिक्षा सचिव हुन् । दैलेखबाट सुर्खेत झरेका उनी वीरेन्द्रनगर–४, का स्थानीय हुन् । कर्णाली प्रदेशसभामुख राजबहादुर शाहीको रोजाइमा खड्का सदस्यमा नियुक्त भएका हुन् । शाही नेकपा ओली पक्षका हुन् । सदस्य बसन्तीकुमारी सिंह शाहीको स्थायी ठेगाना खार्पुनाथ–५, हुम्ला हो । उनी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमतीसमेत हुन् । श्रीमतीलाई आयोगको सदस्य बनाएपछि कांग्रेस नेता शाही आलोचित बनेका छन् । आयोगमा पदाधिकारी भागबन्डा गर्दा कांग्रेसको भागमा महिला कोटा परेको थियो । जसका कारण शाहीले श्रीमतीलाई आयोगको सदस्य बनाउने अवसर पाएका हुन् ।


कर्मचारी नियुक्तिको बाटो खुल्यो
प्रदेश लोक सेवा आयोगले पूर्णता पाएसँगै आवश्यक कर्मचारी नियुक्ति गर्न सक्ने बाटो खुलेको छ । प्रदेश सरकारका लागि आवश्यक दरबन्दीका कर्मचारी लोक सेवा मार्फत विज्ञापन खुलाएर पदपूर्ति गर्न सकिने छ । सरकार गठन भएको तीन वर्ष पुरा भएपनि अझै प्रदेश सरकारले आवश्यक कर्मचारी पाउन सकेको छैन । प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी १ सय ६८ वटा संङ्गठन संरचना र कुल २ हजार ६८७ कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । तर, स्वीकृत दरबन्दी मध्ये ९ सय ८३ दरबन्दी रिक्त रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बताएको छ । प्रदेशमा तल्लो तहका कर्मचारीभन्दा माथिल्लो तहका र प्राविधिक कर्मचारीको अभाव बढी छ ।

Translate »