कर्णालीबाट पुनः श्रमस्वीकृति लिने घटे

अन्य प्रदेशको तुलनामा कर्णालीका नागरिक तेस्रो मुलुक भन्दा छिमेकी मुलुक भारतमा बढी जाने गरेका छन् ।


स्काई न्यूज /फागुन ५, सुर्खेत ।
कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिनेको संख्या घटेको छ । कर्णाली प्रदेश हेर्नेगरी सुर्खेतमा २०७५ सालमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयमा पुनः श्रमस्वीकृतिका लागि अनुमति लिनेहरु यस वर्ष कोरोना कहरका कारणले घटेको हो । कार्यालय प्रमुख सुनिताकुमारी दर्लामीले अन्य वर्षको तुलनामा कोरोना कहरकै कारण यस वर्ष कर्णालीबाट वैदेशिक रोजगारीका लागि पुनःश्रमस्वीकृति लिनेको संख्या घटेको बताईन् । उनले चालु आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्म २ सय ४९ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिएको जनाईन् । उनका अनुसार गत आर्थिक वर्षको सोही अवधि माघ मसान्तसम्म १ हजार ९ सय ३० जनाले पुनः श्रमस्वीकृति लिएका थिए । यो गत आर्थिक वर्षको तुलनामा ६ सय ७५ प्रतिशतले कमी हो । ‘गत वर्षको चैत १ गतेदेखि नै कोरोना कहरका कारण असार मसान्तसम्म पुनः श्रमस्वीकृतिलागयतका सबै सेवाहरु बन्द गर्नु प¥यो,’ उनले भनिन्, ‘साउन १ गतेदेखि कार्यालय खुलेपनि कात्तिक, मंसिरदेखि छिटफुट सेवाग्राही वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिन आउने गरेका छन् ।’

उनले अन्य प्रदेशको तुलनामा कर्णालीका नागरिक तेस्रो मुलुक भन्दा छिमेकी मुलुक भारतमा बढी जाने गरेको बताईन् । उनका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा पुनः श्रमस्वीकृति लिनेको संख्या २ हजार २६ जना रहेको थियो । कार्यालयको तथ्यांक अनुसार त्यस अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ९ सय २६ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिएका थिए । कर्णालीबाट वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिन यसअघि काठमाडौं जानुपर्ने बाध्यता थियो । पछिल्लो समय प्रदेशमै श्रम तथा रोजगार कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ । आन्तरिक श्रमिकको गुनासो सुन्ने व्यवस्था समेत कार्यालयमा रहेको उनले बताईन् । ‘ज्याला नपाएको भन्दै कार्यालयमा ४ ओटा उजुरी परेकोमा ३ ओटाको किनारा लागिसकेको छ भने १ ओटा पछ्र्यौट प्रक्रियामा रहेको छ,’ उनले भने, ‘कार्यालयमा प्रायः औपचारिक क्षेत्रका भन्दा अनौपचारिक क्षेत्रका उजुरी एवं गुनासाहरु नै बढी आउने गरेका छन् ।’ उनले श्रमिक आपूर्तिकर्ता दर्ता, नवीकरण लगायत काम पनि गर्दै आएको बताईन् । उनका अनुसार श्रमिक आपूर्ति दर्ताका लागि १० हजार र नवीकरणका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ ।

 

Translate »