७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच

फागुन ५,मान्म।
कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ । ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घरधुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिए ।

उनका अनुसार बाँकी ५०० घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । “गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत् छैन”, उनले भने, “ती ठाउँमा अहिले विद्युत्का पोल गाड्ने काम भइरहेको छ ।” बत्ती नबलेका ती ठाउँमा एकरदुई महिनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमले बताए । “पलाँता गाउँपालिका विद्युत्ले आत्मनिर्भर भइसकेको छ”, उनले भने,“विद्युत् नपुगेका वडामा पनि विद्युत् यसै आर्थिक वर्षका पु¥याउने लक्ष्य राखिएको छ ।” गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताए । “मैले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्”, उनले भने । ऊर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असाहयका लागि विद्युत् महशुल छुट गरिएको हो । रासस

Translate »